काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गुटबन्दी सुरु गरेको आरोप लाग्न थालेको छ। सभापति देउवाले हालै १० जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेसँगै उनीमाथि गुटबन्दीको आरोप लागेको हो।
केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले सभापतिले आफूखुसी आफूनिकटलाई मनोनीत गरी गुटबन्दी सुरु गरेको आरोप लगाएका हुन्। यसअघि गुरुराज घिमिरेले पनि केन्द्रीय सदस्यको मनोनयनको विषयलाई लिएर सभापतिको आलोचना गरेका थिए।
‘सभापतिले कांग्रेस विधान बमोजिम १० जना प्रत्यक्ष वा परोक्ष रूपमा आफ्ना सहयोगीहरूलाई केन्द्रीय समितिमा मनोनित गर्नुभएको छ,’ केसीले भनेका छन्, ‘साथीहरुलाई हार्दिक बधाई।’ यसअघि पदाधिकारीमा पराजितलाई मनोनयन गरेको हो भने बाँकी पनि मनोनयनमा पर्नुपर्ने केसीको भनाइ छ। ‘१० बाहेक अरु ४ जना महेश आचार्य, डा.मीनेन्द्र रिजाल र डा.चन्द्र भण्डारीलगायतलाई मनोनितमा छुट्दा ‘प्रथमग्रासे मक्षिकापात’ देखियो,’ उनले भनेका छन्।
यसअघि पार्टीको चौधौं महाधिवेशनको नेतृत्व छनोट प्रक्रियाबाट अलग रहने निर्णय गरेका पौडेललाई पार्टी सभापति शेरबहादुर देउवाले हालै केन्द्रीय सदस्यमा मनोनयन गरेका हुन्। सभापति देउवाले पौडेलसहित १० नेतालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका छन्।
केन्द्रीय सदस्य मनोनीत हुनेमा पौडेलसहित प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, प्रकाशशरण महत, नारायण खड्का, उमा रेग्मी, सुजाता कोइराला र मीनबहादुर विश्वकर्मा रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।