काठमाडौं- भारतको महाराष्ट्र राज्यका १० मन्त्रीलाई कोरोना संक्रमण भएको छ। महाराष्ट्रका उपमुख्यमन्त्री अजित पावारले अरु २० प्रदेश सांसदहरुलाई पनि संक्रमण भएको जानकारी दिए।
उनले सरकारले लागू गरेका नियमहरुको पालना नगर्दा र हेलचेक्रयाई गर्दा संक्रमण फैलिएको दाबी गरेका छन्। ‘हामीले भर्खरै संसद्को अधिवेशन घटाएका छौं। हालसम्म १० भन्दा बढी मन्त्री र २० भन्दा बढी विधायक कोरोना संक्रमित भएको पुष्टि भएको छ। सबैजना नयाँ वर्ष, जन्मदिन र अन्य अवसरहरूको उत्सवमा सहभागी भएका थिए,’ उनले भने।
यसैबीच, भारतका सरकारी अधिकारीका अनुसार पछिल्लो २४ घण्टामा २२ हजार ७७५ मा कोरोना संक्रमण भएको छ। सोही अवधिमा कोरोनाका कारण ४०६ को मृत्यु भएको पनि भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।
नयाँ संक्रमितमध्ये एक हजार ४३१ जनालाई कोरोनाको ओमिक्रोन भेरिएन्ट सङ्क्रमण पुष्टि भएको अधिकारीले जनाएका छन्। महाराष्ट्रमा मात्रै ८ हजार ६७ कोरोना संक्रमित फेला परेका छन्। यो आँकडा बिहीबारको तुलनामा ५० प्रतिशतले बढेको हो।
कोरोनाको महामारी तीव्ररुपमा फैलिएकाले आम नागरिकस्तरबाट पनि उच्च सतर्कता अपनाइनु पर्ने पावारले बताए। महामारी नियन्त्रणका लागि अपनाउनु पर्ने नयाँ उपायका बारेमा छलफल गर्न सरोकारवाला तथा विज्ञको बैठक बोलाइएको र उनीहरुसँग पटकपटक परामर्श भइरहेको उनले जनाए।
‘भारतको महाराष्ट्र प्रदेश कोरोनाबाट सबैभन्दा बढी प्रभावित प्रदेश हो। अहिले ओमिक्रोनका संक्रमित पनि सबैभन्दा धेरै महाराष्ट्रमै देखिएका छन्। यही गतिमा राज्यमा संक्रमितहरु बढ्दै गए कडा प्रतिबन्धहरू लगाउनुपर्छ,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।