काठमाडौं- नेपाली बैंकलाई विदेशमा शाखा खोल्न दिन बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले नेपाल राष्ट्र बैंकसँग माग गरेको छ।
सिबिफिनका उपाध्यक्ष राजेश उपाध्यायको संयोजकत्वमा गठित कार्यदलले शुक्रबार 'बैंक तथा वित्तीय संस्थाहरुका अप्ठ्यारा तथा चुनौतीहरु र सम्बोधनका लागि सुझावहरु, २०७८' नामक अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ।
प्रतिवेदनमा भनिएको छ,'नेपाल राष्ट्र बैंकले विदेशमा बैंकको सम्पर्क कार्यालय वा प्रतिनिधि खोल्न स्वीकृति दिएको भए पनि शाखा खोल्न भने स्वीकृति दिएको छैन । नेपाली बैंकहरुले भारत, चीन, खाडी राष्ट्रलगायतका देशमा शाखा खोलेर नेपालको व्यापार व्यवसायमा थप योगदान दिनसक्ने छ।'
यस्तै, प्रतिवेदनमा बैंक तथा वित्तीय संस्थाको प्रति सेयर आम्दानी र प्रतिफलदर घटिरहेको बताउँदै सिबिफिनले चुनौती व्यवस्थापनको लागि खुला बजारको अवधारणा अनुसार व्याजदर निर्धारण गर्न दिनुपर्ने, स्प्रेड दर तोक्न नहुनेसमेत उल्लेख गरेको छ।
राष्ट्र बैंकले तोकेको उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह गर्न बाध्य गराउनु राम्रो नीति रहेको उल्लेख गर्दै तोकिएको क्षेत्रमा बढी कर्जा प्रवाह गर्ने बैंकलाई प्रोत्साहन गर्नुपर्ने सिबिफिनको प्रतिवेदनमा उल्लेख छ।
२०८१ असार मसान्तसम्ममा वाणिज्य बैंकको १ करोड रुपैयाँभन्दा कम रकमको एसएमई कर्जा कुल कर्जाको १५ प्रतिशत पुर्याउन पर्ने व्यवस्थाले गर्दा विकास बैंक र फाइनान्स कम्पनीको व्यापार खोसिएको बताउँदै यसलाई परिमार्जन गर्न माग गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।