काठमाडौं– प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मेलमिलापनको नीति आज पनि उत्तिकै महत्त्वपूर्ण र सान्दरर्भिक रहेको बताएका छन्।
राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा शुक्रबार शुभकामना सन्देश दिँदै उनले राजनीतिक दलहरुलाई राष्ट्रियता, लोकतन्त्रको संरक्षण र सम्बर्द्धनका लागि सहमति र सहकार्यका साथ अगाडि बढ्न प्रेरणा मिलोस् भन्ने कामना पनि गरेका छन्।
‘नेपालको लोकतान्त्रिक आन्दोलनमा बीपी कोइरालाले प्रतिपादन गर्नु भएको राष्ट्रिय एकता तथा मेलमिलाप नीतिको ठूलो महत्त्व छ। यो दिनले हामी सबैलाई सँधै देशभक्ति र लोकतन्त्रप्रति प्रतिबद्धताका लागि प्रेरणा दिइरहेको छ’, देउवाले भनेका छन्, ‘राष्ट्रियता र लोकतन्त्रप्रति समर्पित सबै राष्ट्रिय शक्तिबीच मेलमिलाप, सम्वाद, सहमति र सहकार्य सदैव आवश्यकता हुन्छ।’
नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किएको सम्झनामा कांग्रेसले हरेक वर्ष पुस १६ गते यो दिवस मनाउने गरेको छ।
कोइराला २०३३ साल पुस १६ गते तत्कालीन राजनीतिक व्यवस्थाले लगाएका ठूला–ठूला मुद्दाको परवाह नगरि निर्वासन जीवन त्यागेर राष्ट्रिय एकता तथा मेलमिलापको नीतिसहित स्वदेश फर्किएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।