काठमाडौं– प्रदर्शनको मिति नजिकिँदै जाँदा बलिउड अभिनेता अक्षय कुमारको फिल्म ‘पृथ्वीराज’ थप विवादमा फसेको छ। भारतको राजस्थान क्षेत्रका गुर्जर समुदायले अक्षयको फिल्मलाई प्रदर्शन नै हुन नदिने चेतावनी दिएका छन्। उनीहरुले फिल्ममा जबसम्म पृथ्वीराज चौहानलाई ‘राजपूत’ समुदायको भनिन्छ, तबसम्म फिल्मलाई प्रदर्शन हुन नदिने चेतावनी दिएका हुन्।
राजस्थानका गुर्जर समुदायले पृथ्वीराज चौहान आफ्नो समुदायको भएको दाबी गरिरहेका छन्। यता राजपूतहरुले भने उनीहरुको दाबीलाई नकार्दै फिल्मको नाम ‘पृथ्वीराज’ मात्रै नभएर ‘पृथ्वीराज चौहान’ हुनुपर्ने माग गर्दै आएका छन्। दुई समुदायको दाबीबीच अक्षयको फिल्म ‘पृथ्वीराज’ भने पिसिएको छ।
गुर्जर नेता हिम्मल सिंहले भनेका छन्, ‘पृथ्वीराज फिल्म चन्दबरदाईले लेखेको ‘पृथ्वीराज’माथि आधारित भएको यसको ट्रेलरमा देखाइएको थियो। इतिहासमा उपलब्ध शिलालेखको अध्ययन गरि लेखिएको किताबमा पृथ्वीराजको शासनकाल ४०० वर्ष पहिलेको लेखिएको छ। यी कुराहरले पृथ्वीराज चौहान गुर्जर समुदायको भएको पुष्टि हुन्छ।’
‘पृथ्वीराज’ चन्द्रप्रकाश द्विवेदीको निर्देशनमा बनेको एतिहासिक फिल्म हो। फिल्म आगामी वर्ष जनवरी २१ मा प्रदर्शन हुने घोषणा भएको छ। तर, विभिन्न समूदायको विवाद र कोभिडको नयाँ भेरियन्ट ‘ओमिक्रोन’का कारण फिल्मको प्रदर्शन केही पछि सर्न सक्ने अनुमान गरिएको छ। फिल्ममा अक्षयसँगै सञ्जय दत्त, सोनु सुद, मानुशी चिल्लरलगायतका कलाकारको अभिनय रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।