काठमाडौं- नीति शाहले अभिनय गरेको म्युजिक भिडियो ‘चेहरे’को सार्वजनिक गर्ने कार्यक्रमका लागि अभिनेता राजेश हमाल अहिले भारतको मुम्बईमा छन्। मुम्बई पुगेका उनले आफूले हिन्दी फिल्ममा काम गर्नका लागि योजना बनाइरहेको बताएका छन्।
‘चेहरे’ गीतमा नेपाल र भारतको सांस्कृतिक कुरालाई प्रस्तुत गरिएको छ। नेपाल र भारतका युवायुवतीबीचको प्रेमलाई प्रस्तुत गरिएको गीतमा नेपालको मौलिक कुराहरुलाई पनि देखाइएको छ। उक्त गीतको भिडियोलाई राजेश चौधरीले निर्देशन गरेका छन्।
गीतको सर्वजनिकीकरण कार्यक्रममा हमालले आफूले हिन्दी प्रोजेक्टहरुमा काम गर्नका लागि कुराकानी भइरहेको बताएका छन्। उनले भारतीय सञ्चारमाध्यमसँग कुरा गर्दै भने, ‘म त कलाकार हो, हरेक किसिमको फिल्म गर्न चाहन्छु। हामी केही प्रोजेक्टको लागि योजना बनाइरहेका छौं।’
हमालका अनुसार ‘चेहरे’ गीतका निर्माता चौधरीसँगै उनले एउटा गीतमा काम पनि गरिरहेका छन्। थप कामहरुका लागि कुराकानी भइरहेको उनले बताएका छन्। हमालले भने, ‘हामी अरु प्रोजेक्ट पनि गर्ने छौं। फिल्म बनाउनु, फिल्म गर्नु मेरो पेसा हो। हामी दुईले केही इन्डो-नेपालको प्राजेक्टहरुमा काम गरिरहेका छौं।’
मंगलबार रिलिज भएको ‘चेहरे’ बोलको गीतलाई अशिष कुल्करनीले गाएका हुन्। गीतमा नीति शाह, प्रिन्स विश्वकर्मा, राजीव पिल्लइ र रोश्मी बानेकको अभनय रहेको छ। भिडियो निर्देशन भने दर्शन सुत्हारले गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।