काठमाडौं- आफ्नो फिल्म 'कठपुतली' भन्दा एक दिनअघि प्रदर्शन मिति तोकेको फिल्म 'चपली हाइट-३' को प्रदर्शन मिति सरेसँगै पृथ्वी रानाले अर्जुन कुमारलाई धन्यवाद दिएका छन्। रानाले सामाजिक सञ्जालमा कुमारसँगको तस्बिर राख्दै धन्यवाद दिएका हुन्।
सुरुआतमा पुस २ गते प्रदर्शन मिति तोकिएको फिल्म 'चपली हाइट-३' सँग दक्षिण भारतीय फिल्म 'पुष्पा: द राइज' जुँध्ने भएपछि निर्माता अर्जुन कुमारले आफ्नो फिल्म पुस १५ लाई सारेका थिए। पुस १६ मा भने रानाको निर्माणमा बनेको 'कठपुतली'को प्रदर्शन मिति तोकिएको थियो।
पुस १५ मा आफ्नो फिल्मको प्रदर्शन मिति तोकिएसँगै चलचित्र क्षेत्रमा 'चपली हाइट-३' विवादमा तानियो। चलचित्र संघले कोरोना महामारीका कारण थलिएको चलचित्र उद्योगलाई उकास्न गरेको निर्णयविपरीत फिल्म जुधाएको भन्दै अर्जुन कुमार विवादमा तानिए। संघले गत भदौमा महामारीले पारेको असर कम गर्न दुई साताको अन्तरमा नेपाली फिल्म प्रदर्शन हुनुपर्ने निर्णय गरेको थियो। तर, निर्णयविपरीत अर्जुन कुमारले फिल्म जुधाएपछि 'चपली हाइट-३' विवादमा तानिको थियो। यसबीच निर्माता अर्जुन कुमारले संघसँगको छलफलमार्फत् फिल्म पुस ३० गते प्रदर्शन गर्ने निर्णय गरेका छन्।
फिल्मको प्रदर्शन मिति सरेसँगै पुस १६ मा 'कठपुतली' मात्रै सिनेमा हलमा प्रदर्शन हुँदै छ।
'कठपुतली' निर्माता रानाले अर्जुन कुमारलाई धन्यवाद दिँदै लेखेका छन, 'उहाँलाई धेरै-धेरै धन्यवाद। कठपुतलीको लागि फिल्म पछाडि सारिदिनुभयो।'
रानाको लगानी रहेको 'कठपुतली' भिमसेन लामाको निर्देशनमा बनेको हरर विधाको फिल्म हो। फिल्ममा कार्म शाक्य, मिथिला शर्मा र उषा रजक मुख्य भूमिकामा छन्। त्यस्तै, 'चपली हाइट' फिल्म शृङ्खलाअन्तर्गतको तेस्रो फिल्म 'चपली हाइट-३' निकेश खड्काको निर्देशनमा बनेको थ्रिलर फिल्म हो। फिल्ममा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, महेश त्रिपाठीलगयात मुख्य भूमिकामा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।