काठमाडौं– बलिउड अभिनेता रणवीर सिंह र दीपिका पादुकोण मुख्य भूमिकामा रहेको फिल्म ‘८३’ आजबाट प्रदर्शनमा आएको छ। हिन्दी, तामिल, कन्नड, मलयालमलगायतका भाषामा प्रदर्शनमा आएको फिल्ममा १९८३ मा भारतले जितेको क्रिकेट विश्वकपको कथालाई देखाइएको छ।
फिल्म रिलिज भएसँगै सामाजिक सञ्जालमा ‘८३’ बहिस्कारको अभियान सुरु भएको छ। फिल्मलाई बहिस्कार गर्नुपर्ने माग सहित ‘#Boycott83’ अभियान सामाजिक सञ्जालमा ट्रेण्ड गरिरहेको छ।
आखिर किन भइरहेको छ त रिलिज भएको केही घण्टामा मै ‘८३’ बहिष्कार अभियान?
यो घटना बुझ्न केही समय अघि पुग्नुपर्छ। दीपिका पादुकोण केही समयअघि भारतको जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयु)का विद्यार्थीको समर्थन गर्न एउटा कार्यक्रममा सहभागी भएकी थिइन्। त्यसयता उनका दर्शकहरुले धेरै पटक उनीविरुद्ध बोलेका छन्। जेएनयुका छात्रहरुलाई समर्थन गर्न पुगेकी दिपीकाको फिल्म भएकाले यसलाई नहेर्न भन्दै ट्विटरमा बहिष्कारको अभियान चलेको छ।
त्यस्तै, कतिपयले भने यो फिल्मलाई सुशान्त सिंह राजुतसँग पनि जोडेर बहिष्कार गर्न भनेका छन्। यस्तो गर्नेमा अभिनेता सिंहकै प्रशंसक पनि देखिन्छन्। केहीले यो फिल्म रणवीरले सुशान्तको हातबाट खोसेको तर्क राखेका छन् भने केहीले रणवीरले सुशान्तको मजाक उडाएको भन्दै फिल्म बहिष्कार गर्ने तर्क अघि राखेका छन्। कतिपयले भने फिल्म हेरेको पैसाले लागू औषध खरिद हुने भन्दै फिल्म बहिष्कारको तर्क अघि सारेका छन्।
जे होस, फिल्म बहिष्कारको माग उठेपछि हालसम्म यसलाई लिएर समीक्षक र दर्शकको प्रतिक्रिया सकारात्मक छ।
भारतमा खेलकुदमा आधारित रहेर बन्ने अधिकांश सिनेमाभन्दा ८३ उत्कृष्ट भएको समीक्षकहरुले पनि बताएका छन्।
फिल्मलाई कविर खानले निर्देशन गरेका छन् भने फिल्ममा रणवीर र दिपीकासँगै जिवा, ताशिर भासिन, अदिती आर्या, पंकज त्रिपाठी लगायतका कलाकारको अभिनय छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।