काठमाडौं- प्रदेश २ को नामाकरणका लागि चार वटा नाम प्रस्ताव भएको छ। बिहीबार प्रदेश सभाको दोस्रो बैठकमा विभिन्न दलहरू र सांसदका तर्फबाट चार वटा नामहरु प्रस्ताव भएका हुन्।
बिहीबारको बैठकमा जनता समाजवादी पार्टीका शैलेन्द्रकुमार यादव र माओवादी केन्द्रका अध्यक्ष भरत साहले मधेश प्रदेश नाम प्रस्ताव गरेका थिए। लोसपाका सांसद रानी तिवारीले सो नाममा समर्थन गरेकी थिइन्।
नेकपा एकीकृत समाजवादीले भने जानकी प्रदेश प्रस्ताव गरेको छ। कानुन, न्याय तथा प्रदेशसभा मामिलामन्त्री प्रमोद यादवले सो नाम प्रस्ताव गरेका हुन्।
त्यस्तै, नेपाली कांग्रेसको तर्फबाट शिवचन्द्र चौधरीले मिथिला भोजपुरा नाम प्रस्ताव गरेका छन्। त्यस्तै, नेपाली कांग्रेसका सांसद राजेश्वर प्रसाद साहले मध्यमधेश नाम प्रस्ताव गरेका छन्। उनी पर्साका सांसद हुन्।
संविधानको धारा २९५ (२) अनुसार प्रदेश सभाको दुई तिहाइ बहुमतले प्रदेशको नामाकरण गर्न सक्छ। १०७ सदस्यीय प्रदेश सभामा दुई तिहाइका लागि ७२ जना सदस्य चाहिन्छ। तर, अहिले १०४ जना सांसद छन्।
मधेश सहमत रहेका जसपासँग ३९, लोसपासँग १६ र माओवादी केन्द्रसँग ८ सांसद मात्रै छन्। उनीहरु सबैको सांसद जोड्दा ६३ जना मात्रै हुन्छन्।
अन्य पार्टीका सांसदले साथ दिएको अवस्थामा मात्रै मधेश प्रदेश नाम पारित हुनसक्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।