काठमाडौं– साप्ताहिक कारोबारको अन्तिम दिन आज (बिहीबार) सेयर बजार सकारात्मक भएर बन्द भएको छ। आज सेयर बजार परिसूचक (नेप्से) १२.५३ अंकले बढेर २५२०.२३ अंकमा पुगेको छ। अघिल्लो दिन बुधबार नेप्से ९२.१६ अंकले घटेर २५०७.७० विन्दुमा पुगेको थियो।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार बिहीबार कारोबार रकम पनि बढेको छ। बिहीबार कूल ४ अर्ब ४९ करोड २ लाख ६६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। बुधबार भने ४ अर्ब ४१ करोड ९ लाख ७२ हजार रुपैयाँको कारोबार भएको थियो।
बिहीबार कूल २२९ वटा कम्पनीका ८३ लाख २३ हजार ९२३ कित्ता सेयर ५९ हजार ८ पटक खरिद बिक्री भएका छन्। यसैगरी ठूला कम्पनीहरुको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि आज ०.१० अंकले बढेर ४७७.३६ विन्दुमा उक्लिएको छ। आज तीन कम्पनीको सेयर मूल्य सकारात्मक सकारात्मक सर्किटको लेबलमा कारोबार भएको छ ।
आज कारोबारमा आएका १३ समूहमध्ये तीन समूहको सेयर मूल्य घटेको छ भने बाँकी समूहको सेयर मूल्य बढेको छ। आज विकास बैंक समूह, फाइनान्स समूह र हाइड्रोपावर समूहको सेयर मूल्य घटेको छ।
आज सबैभन्दा धेरै शिखर इन्स्योरेन्स कम्पनीको सेयर मूल्य बढेको छ। बिहीबार यो कम्पनीको सेयरमूल्य ९.९७ प्रतिशतले बढ्यो। यस्तै, बरुण हाइड्रो पावर कम्पनी र जीवन विकास लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको नेप्सेले जानकारी दिएको छ।
आज सबै भन्दा धेरै गोर्खाज फाइनान्स कम्पनीको सेयर मूल्य घटेको छ। यो कम्पनीको सेयरमूल्य ६.७४ प्रतिशतले घट्यो।
यस दिन ३६ करोड २४ लाख रुपैयाँभन्दा बढी रकमसहित खरिदबिक्री रकममा हिमालयन डिष्टिलरी अग्रस्थानमा रहेको छ। दोस्रो र तेस्रो स्थानमा क्रमशः गोर्खाज फाइनान्स र अरुण भ्याली हाइड्रोपावर परेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।