काठमाडौं– श्रीलंकाले तेल आयात गरेबापत चुक्ता गर्न बाँकी २५१ मिलियन डलर तिर्न इरानमा चिया निर्यात गर्ने भएको छ।
श्रीलंकाका मन्त्री रमेश पाथिरानाले समाचार एजेन्सी रोयटर्सलाई आफ्नो देशले अर्को वर्षको जनवरीदेखि इरानमा चिया पठाउन थाल्ने बताएका छन्। इरानले पनि यसको पुष्टि गरेको छ ।
‘हामीले इरानलाई हरेक महिना ५० लाख डलर बराबरको चिया पठाउने लक्ष्य राखेका छौं। ताकि इरानको विगत चार वर्षको तेल आयातको बक्यौता तिर्न सकियोस्,’ उनले भने।
रोयटर्सका अनुसार श्रीलंकाले अर्को वर्ष ४.५ अर्ब डलर ऋण तिर्नुपर्नेछ। तर, देशको विदेशी मुद्रा सञ्चिति घट्नुको कारण श्रीलंकाली सरकार समस्यामा रहेको छ।
श्रीलंकाको केन्द्रीय बैंकका गभर्नर अजित निभार्ड काब्रालले यस महिनाको सुरुमा श्रीलंकाले २०२२ सम्ममा सबै अन्तर्राष्ट्रिय ऋण तिर्न सक्षम हुने दाबी गरेका थिए।
अर्कोतर्फ, इरानको ट्रेड डेभलपमेन्ट अर्गनाइजेसनका प्रमुख अली रजा पेइमान पाकले इस्ना समाचार एजेन्सीलाई श्रीलंकाबाट ९ वर्षअघि यस्तो अनुरोध गरिएको बताए।
दुई देशबीचको पछिल्लो वार्तापछि श्रीलंकाले बक्यौता तिर्न इरानमा चिया पठाउने सहमति भएको उनले बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।