काठमाडौं– भारतको राजधानी दिल्लीमा क्रिसमस र नयाँ वर्षको अवसरमा कुनै पनि कार्यक्रम या ठूलो जमघट गर्न रोक लगाइएको छ।
दिल्ली विपद् व्यवस्थापन प्राधिकरणले कोरोना संक्रमितको बढ्दो संक्रमित, कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनलगायतका कारणले उक्त निर्णय गरेको जानकारी दिएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा हालसम्म २१३ ओमिक्रोन भेरियन्ट संक्रमित फेला परेका छन्। दिल्लीमा सबैभन्दा धेरै ५७ संक्रमित फेला परेका छन्।
दिल्ली सरकारले आज (बुधवार) जारी गरेको तथ्यांक अनुसार दिल्लीमा कोरोना १२५ नयाँ संक्रमित फेला परेका छन्। हाल दिल्लीमा ६२४ सक्रिय संक्रमित रहेका छन्।
केही दिनअघि मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्ली ओमिक्रोन महामारीसँग जुध्न तयार रहेको अभिव्यक्ति दिएका थिए।
विपद् व्यवस्थापन प्राधिकरणले सबै जिल्ला अधिकारीलाई आफ्नो क्षेत्रमा संक्रमण हुन नदिन आवश्यक कदम चाल्न निर्देशन दिएको जनाएको छ। मास्क नलगाई कसैलाई पसल र कार्यस्थलमा प्रवेश गर्न नदिने सुनिश्चित गर्न जिल्ला अधिकारीहरूलाई भनिएको छ।
अर्कोतर्फ, भारतमा ओमिक्रोनको बढ्दो केसहरूलाई ध्यानमा राख्दै सबै राज्य सरकार र केन्द्र शासित प्रदेशहरूलाई सतर्क रहन भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।