काठमाडौं– नेदरल्याण्ड्सका अभियोजनकर्ताहरुले सन् २०१४ मा मलेसियाली वायुसेवाको एमएच-१७ उडानलाई खसालेका चार संदिग्धहरूलाई आजीवन कारावासको सजाय सुनाउन माग गरेका छन्।
अभियोजनकर्ताहरूले बुधबार चार जनाले लापरवाहीपूर्वक यात्रीलाई खसाल्न रुसी क्षेप्यास्त्र प्रयोग गरेको भन्दै घटनामा संलग्न चार जनालाई आजीवन कारावास राख्न माग गरेका हुन्।
पूर्वी युक्रेनमाथि उडिरहेको मलेसियाली वायुसेवाको एमएच-१७ उडानमा क्षेप्यास्त्र प्रहार भएपछि त्यसमा सवार सबै २९८ जनाको ज्यान गएको थियो। जसमा करिब २०० डच नागरिक थिए।
एम्स्टर्डेमबाट क्वालालम्पुर गइरहेको बोइङ-७७७ विमान खस्नुअघि आकाशमै टुक्रा-टुक्रा भएको थियो।
घटनाको छानबिन गर्न गठित अन्तर्राष्ट्रिय अभियोजनकर्ताहरुको एक टोलीले सो उडानलाई रुस समर्थित विद्रोही नियन्त्रित क्षेत्रबाट क्षेप्यास्त्र प्रहार गरिएको निष्कर्ष निकालेको छ।
सरकारी वकिल म्यानोन रिडरबेक्सले प्रमाण पेस गरेपछि सजायको माग गरेका हुन्। अभियुक्तहरूको अनुपस्थितिमा मुद्दा चलिरहेको छ।
‘एमएच-१७ लाई बुक मिसाइलले खसालेर जहाजमा रहेका सबै २९८ जनाको ज्यान गएको थियो। अविश्वसनीय रूपमा गहिरो र अपरिवर्तनीय पीडा आफन्तहरूलाई भएको छ,’ रिडरबेक्सले अदालतलाई भने।
उनका अनुसार रुसका इगोर गिरकिन, सर्गेई डुबिन्सकी र इगोर पुलाटोभका साथै युक्रेनी लियोनिद खार्चेन्कोले रूसीबाट ट्रकमा मिसाइल प्रणाली प्रयोग गरेर युक्रेनी विमानहरू खसाल्ने लक्ष्य राखेको थियो।
नेदरल्याण्ड्समा शिफोल एयरपोर्ट नजिकैको उच्च सुरक्षा अदालतमा उनीहरुको मुद्दाको सुनुवाइ भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।