काठमाडौं- प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड र नेपाल क्लियरिङ हाउस (एनसीएचएल)बीच डिजिटल माध्यमबाट भुक्तानी कारोबार गर्नेसम्बन्धी सम्झौता भएको छ।
सम्झौतापत्रमा प्रिमियर इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत सहदेव तिवारी र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन्।
उक्त सम्झौतापश्चात् प्रिमियर इन्स्योरेन्स एनसीएचएलको नेसनल पेमेन्ट स्वीचअन्तर्गतको नेसनल पेमेन्ट इन्टरफेस (एनपीआई) सँग जोडिने पहिलो निर्जीवन बिमा कम्पनी बनेको छ। यसले कम्पनीको आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएल-आईपीएस र कनेक्ट आईपीएस प्रणालीसँग जोडी इन्स्योरेन्स दाबी भुक्तानी, क्रेडिट नोट भुक्तानी, एजेन्ट कमिसन, सर्भे पेमेन्ट, तलब, भेण्डर भुक्तानीलगायत आफ्नो लगानीसम्बन्धी कारोबारहरु आबद्ध भएका बैंक खाताहरुबाट सोझै गर्न सक्ने कम्पनीले जनाएको छ।
यसले प्रिमियर इन्स्योरेन्सलाई आफ्ना विभिन्न खाताहरुबाट भुक्तानी कारोबारहरु सहजै आफ्नो अपरेटिङ खातामा सार्न पनि मद्दत पुर्याउने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।