भारत- दक्षिण एशियाको शक्तिशाली देश भारत छिमेकी देशसँग सम्बन्ध सुमधुर बनाइराख्न भने असफल देखिन्छ। छिमेकी देशहरुमा भारतविरोधी भावना जाग्ने क्रम जारी छ। कुनै समय भारतको प्रिय रहेको देश माल्दिभ्समा यतिबले 'इन्डिया आउट' अभियान चलिरहेको छ।
माल्दिभ्सका पूर्वराष्ट्रपति अब्दुल्ला यामिन भारत विरोधी अभियानको नेतृत्व गरिरहेका छन्। उनको माग छ, 'माल्दिभ्समा भारतको उपस्थिति अन्त्य हुनुपर्छ।'
माल्दिभ्समा भारतविरोधी अभियान तीव्र बनेपछि सरकार समेत चिन्तित बनेको छ। डिसेम्बर १९ मा माल्दिभ्सको विदेश मन्त्रालयले एक वक्तव्य जारी गर्दै भनेक थियो, 'भारतलाई लिएर फैलिएको झूठ र घृणालाई लिएर सरकार चिन्तित छ।' मन्त्रालयले आफ्नो वक्तव्यमा केही नेता र सानो समूह प्रोपोगान्डा फैलाउन सक्रिय रहेको बताएको थियो।
भारत र माल्दिभ्सको सम्बन्धमा दरार आउने सम्भावना भने यसले देखिएको छ। एक हजार भन्दा बढी टापु भएको माल्दिभ्समा विपक्षी पार्टी समर्थितले यतिबेला 'इन्डिय आउट' क्याम्पेनिङलाई तीव्रता दिइरहेका छन्।
माल्दिभ्स सांसद अहमत शियाले उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री अखिलेश यादवको प्रेस कन्फ्रेन्सको एक भिडियो ट्विट गर्दै डिसेम्बर १९ मा ट्विट गरे, 'भारतको वर्तामान सरकारबाट हामी कहिल्यै कुनै आशा गर्न सक्दैनौं। किनभने भारतले आफ्नै नागरिक (खाशगरी अल्पसंख्यकको मामलामा) र कानुनको त सम्मान गरेको छैन भने हाम्रो आन्तरिक मामला र संविधानको सम्मान गर्छ भनेर कसरी विश्वास गर्नु? हामी स्वतन्त्रता गुमाउन चाहँदैनौं।'

भारतमा मुसलमानलाई लिएर जे हुन्छ, उक्त खबरबाट माल्दिभ्सका मुसलमान पनि प्रभावित हुन्छन्। माल्दिभ्स सुन्नी मुस्लिम बहुल देश हो। अहमत शियाम यसतर्फ इशारा गरिरहेका छन्। इन्डिया आउट अभियानमा यसले पनि बल मिलिरहेको बताइएको छ।
यस अभियानमार्फत् भनिएको छ, 'माल्दिभ्सबाट भारतका सैनिक अधिकार र उपकरण हटाउटुपर्छ।' यसको सुरुवात सन् २०१८ मा भएको थियो। त्यो बेला माल्दिभ्सका तत्कालीन राष्ट्रपति अब्दुल्ला यामिनले भारतलाई आफ्ना दुई हेलिकोप्टर र एक डोर्नियर एअरक्राफ्ट फिर्ता लैजान भनेका थिए।
यी हेलिकोप्टर र एअरक्राफ्ट माल्दिभ्समा खोजी, राहत र बचाऊ अभियानका लागि राखिएको बताइएको छ। माल्दिभ्सको भनाइ छ, 'यदि भारतले उपहारमा दिएको हो भने यसका पाइलट माल्दिभ्सकै नागरिक हुनुपर्छ न कि भारतका।'
गत डिसेम्बर ५ मा आइल्यान्ड एभिएशन सर्विस लिमिटेडका पूर्वनिर्देशक मोहम्मद आमिनले ट्विट गरेर भनेका थिए, 'भारतबाट एक डोर्निएर लिनु कुनै मुद्दा होइन। तर डोर्निएरसँगै भारतीय सैनिकको तैनाथीको विरोधमा हामी छौं। हामीसँग यो चलाउने प्रशस्त अनुभव छ। हामीसँग यी हेलिकोप्टर दर्ता गर्ने र फिर्ता गर्ने विकल्प पनि हुनुपर्छ।'
प्रोग्रेसिभ पार्टी अफ माल्दिभ्स (पीपीएम) र उससँग जोडिएका पार्टीको भनाइ छ- भारतीय सैनिक माल्दिभ्सबाट फिर्ता जानुपर्छ। माल्दिभ्समा पूर्वमन्त्री लुबना जाहिरले डिसेम्बर६ मा ट्विट गर्दै भने, 'म भारतीय परिकार, उत्पादन र उत्पादित औषधि चाहन्छु तर आफ्नो जमिनमा भारतीय सैनिक होइन।'
अर्का पूर्वमन्त्री अहमत तौफिकले २१ नोभेम्बरमा माल्दिभ्सका जनताले भारतका सैनिकप्रति आफ्नो रिस व्यक्त गरिरहेको उल्लेख गरेका थिए।
जानकारका अनुसार पूर्वराष्ट्रपति यामिन राष्ट्रपतिको निर्वाचनमा हारेपछि भएको गिरफ्तारीमा भारतले नजोगाएकोमा उनी रिसाएका छन्। यामिनले आफ्नो कार्यकालमा चीनको उपस्थितिलाई बलियो बनाएका कारण भारतले त्यसो गर्न नसक्ने कतिपयको भनाइ छ।

सन् २०१८ मा इब्राहिम सोलिह माल्दिभ्सका राष्ट्रपति बनेपछि उनको नीति भारतपरस्त रहेको बताइन्छ। भनिन्छ- सोलिहको नीति इन्डिया फर्स्ट रहेको छ। भारतले 'इन्डिया ओन्ली'को नीति अख्तियार गर्न उनीमाथि दबाब बढाइरहेको बताइन्छ। सोलिहको शपथ ग्रहणमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सामेल भएका थिए। कतिपय सम्झौतामा समेत हस्ताक्षर भएको थियो।
भारत निकटस्थ छिमेकी भएका कारण आपूर्ति भारत निर्भर छ। उपचारका लागि समेत धेरै माल्दिभ्सका नागरिक भारत पुग्छन्।
चीनका लागि माल्दिभ्स सामरिक रुपमा निकै महत्वपूर्ण ठाउँ हो। माल्दिभ्स रणनीतिक रुपमा जुन समुन्द्रमा बसिरहेको छ। त्यो पनि विशेष महत्वको छ। चीन माल्दिभ्समा रहनु हिन्द महासागरमा उसको रणनीतिक हिस्सा हो। सन् २०१६मा चिनियाँ कम्पनीले एक टापु ५० वर्षका लागि ४० लाख डलरमा भाडामा लिएको छ।
दोस्रोतर्फ भारत छिमेकी हो। माल्दिभ्स करिब ७ सय किलोमिटरको दूरीमा छ। भारतको मुख्य भूभागबाट जम्मा १२ सय किलोमिटर टाँढा छ। त्यहाँ चीनको प्रभाव रहनु भारतका लागि चिन्ताको विषय स्वभाविक रुपमा बन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।