काठमाडौं– डिसेम्बर २३ बाट प्रदर्शनमा आउने हिन्दी फिल्म ‘८३’लाई भारतको राजधानी दिल्लीमा कर छुट दिइएको छ। फिल्मका निर्देशक कवीर खानले आफ्नो फिल्मलाई दिल्ली सरकारले प्रदर्शन हुँदा कर छुट दिएको जानकारी आफ्नो इन्स्टाग्राममार्फत दिएका हुन्।
यो फिल्ममा रणवीर सिंह मुख्य भूमिकामा छन्। खानले इन्स्टाग्राममा फिल्मको पोस्टार राख्दै दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई धन्यवाद दिएका छन्। खानले दिल्ली सरकारले आफ्नो फिल्मप्रति देखाएको प्रेमले थप दर्शक पाउन सहयोग हुने लेखेका छन्।
सन् १९८३ को क्रिकेट विश्वकपमा भारतको राष्ट्रिय टोलीले पाएको जितमा आधारित रहेको यो फिल्ममा रणवीरसँगै दीपिका पादुकोण, जीवा, पंकज त्रिपाठीलगायत कलाकारको मुख्य अभिनय रहेको छ।
फिल्ममा तत्कालीन भारतीय क्रिकेटका कप्तान कपिल देवको भूमिकामा रणवीर र उनकी श्रीमती रोमीको भूमिकामा दीपिकालाई देख्न पाइनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।