काठमाडौं- सेलिब्रेटी नेपालको आयोजनामा ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ हुने भएको छ।
पर्यटन प्रवर्द्धनसँगै नेपाली चलचित्रलाई ग्रामीण बजारमा पुर्याउने उद्देश्यले माघमा महोत्सवको आयोजना हुन लागेको हो। महोत्सव माघ महिनाको अन्तिम साता तीन दिन हुने बताइएको छ।
संस्थाका अध्यक्ष रघुनाथ सापकोटाका अनुसार महोत्सवमा चलचित्र प्रदर्शनसँगै यो विधासँग सम्बन्धित अन्तर्क्रिया, कार्यशाला लगायतका कार्यक्रम हुनेछ। महोत्सवमा ग्रामीण परिवेशमा खिचिएका स्वदेशी लघु चलचित्र, डकुमेन्ट्री र फिचर फिल्मलाई समावेश गरिने उनले बताए।
महोत्सवमा प्रदर्शन हुनेमध्ये उत्कृष्ट फिल्मलाई अवार्ड वितरण गरिने पनि उनले जानकारी दिए।
कार्यक्रम हुने स्थान केही दिनमा सार्वजनिक गरिने सापकोटाको भनाइ छ। कार्यक्रम गरिने स्थानको साँस्कृतिक पक्ष तथा पर्यटकीय क्षेत्रलाई समेटिने विभिन्न प्रस्तुतिहरु समेत महोत्सवमा राखिने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।