दमौली- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे सत्तारूढ पाँच दलको साझा धारणा बन्ने बताएका छन्।
तनहुँमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले एमसीसी परियोजनमा मतभेद सिर्जना गरी गठबन्धन भत्काउने एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रयास सफल नहुने बताए। सत्तारुढ गठबन्धनमा एमसीसीबारे साझा धारणा बनाउन कार्यदल गठन भएको चर्चा गर्दै मन्त्री श्रेष्ठले छिट्टै साझा धारणा सार्वजनिक गरिने बताए। एमसीसीका अन्तरवस्तुका बारेमा पार्टीभित्र पनि छलफल भइरहेको उनले बताए।
फरक प्रसङ्गमा मन्त्री श्रेष्ठले श्रम क्षेत्रमा वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन, नीतिगत सुधार गर्न, श्रम कूटनीतिलाई प्रभावकारी बनाउन आफू केन्द्रित रहेको बताए। देशभित्र रोजगारीको अवसर वृद्धि गर्ने, स्वरोजगारीका लागि प्रोत्साहित गर्ने तथा सम्मानजनक वैदेशिक रोजगारीका लागि विभिन्न सुधारका काम अघि बढाइएको उनले बताए। वैदेशिक रोजगारीका नाममा हुने ठगी र छलीका घटना अन्त्य गर्न कार्यदल बनाएको बताउँदै उनले वैदेशिक रोजगार नीति तथा कार्ययोजना पुनरवलोकन गर्न लागिएको बताए।
रोजगारीको लागि तुलनात्मक लाभ भएका रोजगार गन्तव्य मुलुकहरूको खोजी गर्ने र उक्त मुलुकमा नेपाली श्रमिकको हक हित संरक्षण र सम्वर्द्धनको लागि पहल गर्नेसमेत उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।