मकवानपुर– मकवानपुरमा यसवर्ष ४६ हजार ६७७ मेट्रिकटन धान उत्पादन भएको छ। कृषि ज्ञान केन्द्रको अनुसार गत वर्षका तुलनामा यसवर्ष जिल्लामा उत्पादनमा वृद्धि भएको हो।
गतवर्ष जिल्लामा ४४ हजार ४० मेट्रिकटन उत्पादन भएको केन्द्रका सूचना अधिकारी मीनबहादुर पुनले जानकारी दिए। उनका अनुसार यस वर्ष दुई हजार २५७ मेट्रिक टनले उत्पादन बढेको हो।
जिल्लामा यसवर्ष ३.७४ प्रतिहेक्टर उत्पादकत्व भएकामा गत वर्ष ३.७ प्रतिहेक्टर उत्पादकत्व रहेको थियो। आधुनिक कृषि प्रणाली, सिँचाइ सुविधा, कृषकमा कृषिसम्बन्धी ज्ञान तथा उन्नत बीउबिजनका कारण जिल्लामा धान उत्पादन बढेको जनाइएको छ।
जिल्लामा कुल १३ हजार ४२० हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको उनको भनाइ छ। उक्त क्षेत्रफलमा अनुमानित ५० हजार १९० मेट्रिकटन उत्पादन हुनुपर्नेमा बेमौसमी वर्षाले तीन हजार ५१३ मेट्रिकटन धान क्षति भएको सूचना अधिकारी पुनले बताए।
जिल्लामा सावित्री, सावा, रामधान, मकवानपुरे, वार लगायतका धान लगाइन्छ। जिल्लाका सबै स्थानीय तहमा धान खेती हुने गरेको छ। सबैभन्दा धेरै मनहरि गाउँपालिकामा धान खेती हुने गरेको छ। त्यहाँ तीन हजार ९ २५ हेक्टर क्षेत्रफलमा धान उत्पादन हुने गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।