काठमाडौं– सत्ता गठबन्धनले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का बारेमा साझा धारणा बनाउन अध्ययन गर्न कार्यदल गठन गरेको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा आइतबार बसेको गठबन्धनको बैठकले सत्ता साझेदार दलहरूले एमसीसीमाथि प्रश्न उठाएपछि त्यसबारे समान धारणा बनाउन तीन सदस्यीय कार्यदल गठन गरेको हो।
अध्ययन कार्यदलमा सरकारकातर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठ र नेकपा (एकिकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनाल छन्।
समितिले एमसीसीका त्यस्ता विवादास्पद बुँदाहरूमाथि अध्ययन गर्ने र त्यसबारे धारणा बनाएर शीर्ष नेताहरूमाझ प्रस्तुत गर्ने छ। बैठकमा प्रधानमन्त्री देउवाले संसदको यो अधिवेशनमा एमसीसी पेस गर्ने र अनुमोदन गर्ने विषय प्रस्तुत गरेका थिए। संसद् बैठक पुस ६ गते बस्ने छ।
तर, बैठकमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय जनमोर्चा र मजदुर किसान पार्टीले भने एमसीसी स्वीकार्य नहुने धारणा राखेका थिए।
‘राप्रपा, जनमोर्चा र मजदुर किसान पार्टीले एमसीसी स्वीकार्य नहुने धारणा राख्यौं। एमसीसीबारे फेरि बैठक डाक्ने भनिएको छ। कहिले डाक्ने उहाँहरुले सल्लाह गरेर बोलाउनु होला,’ सर्वदलीय बैठकमा सहभागी राप्रपा नेता बुद्धिमान तामाङले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।