काठमाडौं– अमेरिकी सहयोगमा सञ्चालित परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का विषयमा दलहरूबीच पुनः छलफल हुने भएको छ।
सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले आइतबारको सर्वदलीय बैठकमा एमसीसीका विषयमा पक्ष/विपक्षमा विचारहरु आएकाले निरन्तर छलफल गरेर टुंगोमा पुगिने बताए।
‘एमसीसीका बारेमा कसरी अगाडि बढाएर लैजाने भन्नेमा सबै दलहरुले आ–आफ्नो विचार राख्नु भएको छ। कसैले आशंका व्यक्त गर्नु भएको छ’ कार्कीले भने, ‘ती सबै कुराहरु फेरि छलफल गरेर एमसीसीलाई एउटा निष्कर्षमा पुर्याउँछौं। निरन्तर छलफल गरेर निष्कर्षमा पुर्याउने भन्ने छ।’
सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्ष एमाले समेत सहभागी हुनुपर्नेमा नभएको विषयमा समेत छलफल भएको कार्कीले बताए। आइतबारको बैठकमा एमाले सहभागी भएको थिएन।
‘प्रधानमत्रीज्यूले संसद्मा प्रतिनिधित्व गर्ने सबै दललाई बोलाउनु भएको थियो। त्यहाँ लामो छलफल भयो। संघीय संसद् निरन्तर अवरुद्ध हुँदा संसद्को नियमित काम र जनताको संस्थाबाट अपेक्षा गरेको दलको भूमिका समेत प्रभावित भएको छ’ कार्कीले भने, ‘जननिर्वाचित संस्थालाई यसरी लामो समय बन्धक बनाउनु उचित होइन। गतिरोधले गर्दा महत्त्वपूर्ण विधेयक र प्रस्ताव अल्झिएका छन्। संसदीय लोकतन्त्रलाई जीवन्त राख्न प्रतिपक्षको महत्त्वूर्ण हुन्छ।’
तर, सशक्त प्रतिपक्ष हुनुको अर्थ संसद् नै चल्न नदिनु भन्ने नभएको कार्कीले बताए। ‘विरोध गर्ने, अहमति प्रकट गर्ने मूल थलो संसद् नै हो’ तर, सिंगो संसद्लाई यसरी निरन्तर बन्धक बनाउँदा हाम्रो लोकतन्त्र संसदीय अभ्यास समेत कमजोर हुन जाने खतरा हुन्छ।’ प्रतिपक्षले उठाएका विषयमा संवाद गर्न उपयुक्त सहमति खोज्न सरकार तयार रहेको कार्कीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।