काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले राष्ट्रिय सम्मेलनका प्रतिनिधिको सूची पठाउने समय थप गरेको छ। पुस ३ गतेसम्म प्रतिनिधिको नामावली पठाइसक्नुपर्ने भनिए पनि प्रदेश सम्मेलनमा भएको ढिलाइका कारण दुई दिन समय थपिएको हो।
केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार प्रदेश सम्मेलनको बाँकी काम छिटो सम्पन्न गरी ५ गतेभित्र नामावली पठाउन निर्देशन दिएको सचिवालयले जनाएको छ।
प्रतिनिधिको सूची आइसकेपछि पार्टीको स्थायी समिति बैठक बस्ने जनाइएको छ । पुस ११ देखि १३ गतेसम्म काठमाडौंमा हुने राष्ट्रिय सम्मेलनमा एक हजार पाँच सय प्रतिनिधि सहभागी हुनेछन्।
सचिवालयका अनुसार पालिकादेखि प्रदेश सम्मेलनसम्म अधिकतम सहमतिका माध्यमबाट नेतृत्व चयन भएको छ।
माओवादी केन्द्र सदस्यता नवीकरणबाट सुरु भएको पार्टी सुदृढीकरणको अभियान सेल, टोल, वडा, स्थानीय तह हुँदै प्रदेश सम्मेलन सम्पन्न गरी राष्ट्रिय सम्मेलनको तयारीमा जुटेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।