काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन्। बैठकमा अमेरिकी अनुदान सहायता कार्यक्रम मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लगायतका पछिल्ला राजनीतिक विषयमा छलफल हुने उनको सचिवालयले जनएको छ।
आइतबार बेलुका ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेतालाई बोलाइएको छ।
प्रधानमन्त्री देउवाले यसअघि संसदमा देखिएको गतिरोध अन्त्य गर्ने विषयमा सत्तारुढदल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेका थिए।भेटमा उनले सदन सुचारु गर्नेलगायतका समसामयिक राष्ट्रिय मुद्दामा सर्वदलीय बैठक बोलाउन देउवालाई आग्रह गरेका थिए।
सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) जाने वा नजाने निश्चित भएको छैन। एमालेले नेकपा (एकीकृत समाजवादी) सहभागी हुने बैठकमा नजाने बताउँदै आएको छ।
एमालेले गत भदौ २९ गते सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक र प्रधानमन्त्री शेरबहादुर देउवाले असोज १४ गते बोलाएको सर्वदलीय बैठक पनि बहिष्कार गरेको थियो। आफ्नो दलले कारबाही गरेका १४ सांसदको सूचना सभामुख अग्निप्रसाद सापकोटाले टाँस नगरेका कारण रुष्ट बनेको एमालेले प्रतिनिधिसभाको नवौं अधिवेशनदेखि बैठक अवरुद्ध गर्दै आएको छ।
गत मंसिर २८ गतेदेखि शुरू भएको प्रतिनिधि सभाको हिउँदे अधिवेशनको पहिलो बैठक पनि एमालेले अवरोध गरेको छ। एमालेले सभामुखले सूचना टाँस नगरेको भन्दै सभामुख सापकोटाले नै राजीनामा दिनुपर्ने अडान राख्दै आएको छ।
आगामी ६ गते बस्ने प्रतिनिधि सभा बैठकमा सरकारले एमसीसी सम्झौतासम्बन्धी प्रस्ताव ल्याउने तयारी गरेको छ।
यसैबीच, सर्वदलीय बैठक बस्नुअघि सत्तागठबन्धनको बैठकसमेत बस्नेछ। सर्वदलीय बैठकका लागि साझा धारणा बनाउन गठबन्धनको बैठक २ बजे बोलाइएको जनमोर्चाकी सासद् दुर्गा पौडेलले जानकारी दिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।