काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी अनुदान सहायता कार्यक्रम मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लगायतका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन्।
बैठक आइतबार बेलुका ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ। बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेतालाई बोलाइएको छ।
प्रधानमन्त्री देउवाले यसअघि संसदमा देखिएको गतिरोध अन्त्य गर्ने विषयमा सत्तारुढदल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेका थिए।
भेटमा उनले सदन सुचारु गर्नेलगायतका समसामयिक राष्ट्रिय मुद्दामा सर्वदलीय बैठक बोलाउन देउवालाई आग्रह गरेका थिए।
सर्वदलीय बैठक बस्नुअघि सत्तागठबन्धनको बैठक बस्नेछ। साझा धारणा बनाउन गठबन्धनको बैठक २ बजे बोलाइएको जनमोर्चाकी सासद् दुर्गा पौडेलले जानकारी दिइन्।
सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) जाने वा नजाने निश्चित भएको छैन। एमालेले नेकपा (एकीकृत समाजवादी) सहभागी हुने बैठकमा नजाने बताउँदै आएको छ।
६ गते प्रतिनिधि सभा बैठक बस्दैछ। सरकारले त्यो बैठकमा एमसीसी सम्झौतासम्बन्धी प्रस्ताव ल्याउने तयारी गरेको छ।
एमालेले लामो समयदेखि संसदीय दलबाट निश्कासनमा परेका माधवकुमार नेपालसहितका १४ जना सांसदलाई कारबाही गरेको सूचना सभामुख सापकोटाले जारी नगरेको भन्दै संसद् बैठक अवरुद्ध पार्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।