काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीभित्रको पुस्तान्तरणको सवालमा एमाले अगाडि भएको बताएका छन्। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा पोखरेलले अहिले कांग्रेस महाधिवेशनको मतगणना चलिरहेकाले त्यसप्रति चासो स्वभाविक हुने भए पनि आफूहरुको पार्टीमा पहिल्यै पुस्तान्तरणको प्रक्रिया सुरु भइसकेको बताए।
'हामीकहाँ निर्वाचनको प्रक्रियाबाट नयाँ पुस्ताको प्रवेश आठौं राष्ट्रिय महाधिवेशनको समयदेखि सुरु भयो। नवौं महाधिवेशनमा तपाईंहरुले नयाँ साथीहरुलाई पदाधिकारीमा आएको देख्नुभयो। अहिले हाम्रो नेतृत्वको टिमभित्र हेर्नुहुन्छ भने पुस्ताको अन्तर स्वभाविक रुपमा देख्नुहुन्छ। त्यसकारण पुस्तान्तरणमा हामी पहिलो हौं। अरु पार्टीहरुले त्यसलाई फलो गरे', उनले भने।
आफूहरुले विधान अधिवेशनको माध्यमबाट राजनीतिक दलको गतिशीलताको लागि तीन पुस्ताको संयोजन आवश्यक छ भनेको उनले स्मरण गराए। 'अहिले हाम्रो केन्द्रीय समितिमा ४५ प्रतिशतभन्दा बढी नयाँ सदस्यहरु प्रवेश गर्नुभएको छ। यसलाई हेर्नुभयो भने नेकपा एमाले अगुवाइ गर्ने पार्टी हो भन्ने बुझ्नुहुन्छ', उनले भने।
पोखरेलले ३३ प्रतिशत महिला सहभागितालाई आधारभूत तहदेखि नै सुनिश्चित गर्ने पार्टीका रुपमा पनि एमाले अगाडि आएको बताए। यसले स्वभाविक रुपमा नयाँ पुस्ताको प्रवेश भएको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।