काठमाडौं– प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिले दिएको निर्देशनअनुसार बनाउनुपर्ने विधेयक तत्काल संसद्मा पेस गर्न शहरी विकास मन्त्रालयलाई निर्देशन दिएको छ।
बिहीबार सिंहदरबारमा भएको समितिको बैठकले समितिले विभिन्न मितिमा दिएको निर्देशन अनुसार बनाउनुपर्ने विधेयकहरु प्रतिनिधि सभाको बैठकमा पेस गर्न निर्देशन दिएको हो।
बैठकमा समितिकी सभापति कल्याणीकुमारी खड्काले सरकारी निकायहरुले बजेट निकासा गरी आ–आफ्नो भवन निर्माण गर्दा वातावरण लगायत विविध क्षेत्रमा नकारात्मक असर परेको र मापदण्ड बमोजिम नगरेकोले शहरी विकास मन्त्रालयबाट नै मापदण्ड र गुणस्तरयुक्त भवन निर्माणको व्यवस्था गर्न मन्त्रालयलाई निर्देशन दिइन्।
सभापति खड्काकाअनुसार परिवर्तित राजनीतिक परिवेशमा नागरिकको विकासप्रतिको तीव्र चाहना सम्बोधन गर्न विभिन्न शीर्षकहरुमा छरिएर रहेका बजेट अभावका कारणले अलपत्र परेका आयोजनाहरु तत्काल पहिचान गरी व्यवस्थित शहरीकरणको अवधारणाअनुरुप नागरिकले अनुभूत गर्ने किसिमको विकासका आयोजनाहरु अघि बढाउन पनि समितिले निर्देशन दिएको छ।
सभापति खड्काले शहरी विकास मन्त्रालयले नयाँ शहर मेगा सिटी, स्मल सिटी, मेट्रो सिटी, एकीकृत नमूना बस्ती लगायतका सम्बन्धमा अघि बढाइएको कार्ययोजना बारेमा विस्तृत छलफल गर्नका लागि समितिका सदस्य एवं कर्मचारीहरुलाई पुस महिनाभित्र सम्पन्न गर्नेगरी आवाशीय कार्यशाला गोष्ठी गर्ने पनि बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।