फाइल तस्बिर।
काठमाडौं– नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजालले रक्षामन्त्रीबाट राजीनामा दिएका छ्न्। कांग्रेस महामन्त्रीमा पराजित भएपछि उनले बिहीबार राजीनामा दिएका हुन्।
राजीनामापछि रक्षा मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले कांग्रेसको महामन्त्रीमा निर्वाचित गगन थापा र विश्वप्रकाश शर्माको प्रशंसा गरेका छन्। उनले आफूभन्दा समक्ष व्यक्ति महाममन्त्रीमा निर्वाचित भएको बताए।
रिजालले मन्त्रीबाट राजीनामा दिँदा सन्तुष्टी मिलेको पनि बताए। महामन्त्रीको उम्मेदवार रहेका उनले ८०९ मत प्राप्त गरेका थिए। शेखर कोइरालाको प्यानलबाट उम्मेदवार बनेका उनले महामन्त्री पदमा जित हात पार्न नसकेपछि मन्त्रीबाटै राजीनामा दिएका हुन्। उनले आफू हारेको वा पराजित भएको सिपाही नभएको भन्दै आगामी दिनमा पनि कांग्रेसको राजनीतिमा सक्रिय हुने बताए ।
‘शीरमा नेतैनेता भएका कारण हामीले छरितो विधान बनाएका थियौं। महाधिवेशनले पनि यो अवसर दिएको छ’, उनले भने, ‘म नहुँदा पनि म भन्दा राम्रोसँग भूमिका निभाउन सक्ने व्यक्तिको भागमा यो जिम्मेवारी परेको छ। मभन्दा समक्ष र पत्याएको नेताहरूले उक्त जिम्मेवारी पाएको अनुभव गरेको छु।’
मन्त्रिपरिषद बैठकअघि प्रधानमन्त्रीलाई राजीनामा बुझाएर आएको उनले सुनाए। उनले आफूलाई रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौलासहितले फोन गरेर राजीनामा गर्न आवश्यक रहेको सुझाएको पनि उल्लेख गरे।
‘म जहाँ उभिएको छु र चार वर्षमा जहाँ नेपाली कांग्रेसलाई पुर्याउनुपर्ने थियो त्यसका लागि मैले राजीनामा दिएको हुँ’, उनले भने, ‘आउने दिनको सम्भावना र अरुले पनि सोचुन् भनेर यो निर्णय लिएको हुँ ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।