काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीका नाममा ठगी गर्नेलाई कडा कारबाही गर्ने चेतावनी दिएका छन्।
एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठन, नेपालका पदाधिकारीको ज्ञापनपत्र बुझ्दै मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीलाई मर्यादित, सुरक्षित र व्यवस्थित बनाउन व्यवसायीको सहयोग अपरिहार्य रहेको बताए। गलत काममा संलग्न जोसुकै माथि राज्यले कानूनअनुसार कारबाहीको प्रक्रिया अघि बढाउने दृढता व्यक्त गर्दै उनले वैदेशिक रोजगारसम्बन्धी बेथितिको अनुसन्धान र कारबाही गर्न छुट्टै प्रणाली स्थापना गर्ने तयारी गरिएको बताए।
वैदेशिक रोगजारीमा रहेका बेथिति रोक्ने, नयाँ प्रणाली स्थापित गर्ने, सुरक्षित र व्यवस्थित बनाउने आफ्नो योजनामा सहयोग गर्नसमेत उनले व्यवसायीलाई आग्रह गरे।
सरोकारवाला सबै पक्षको संयुक्त पहलबाट मात्र वैदेशिक रोजगारीका चुनौती समाधान गर्न सकिने मन्त्रालयका सचिव एकनारायण अर्यालले बताए। वैदेशिक रोजगारीका क्रममा हुने विकृति, विसंगति र गैरकानूनी कामलाई नियन्त्रण गर्न वैदेशिक रोजगार प्रहरी गठन गर्ने योजना रहेको सचिव अर्यालले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।