काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस प्रतिगामी शक्तिको मतियार बन्न छोड्नुपर्ने बताएका छन्।
बुधबार तुलसीलाल स्मृति प्रतिष्ठान, च्यासल ललितपुरमा आयोजित केन्द्रीय सदस्यहरूको शपथग्रहण कार्यक्रममा ओलीले कांग्रेसले अहिलेसम्म खराब तत्वसँग साँठगाँठ गर्ने र देशभक्त शक्तिसँग जाइलाग्ने प्रवृति अंगालेको टिप्पणी गरे। कांग्रेसले यो नीति अवलम्बन गर्न छोड्नुपर्ने उनको सुझाव छ।
'प्रतिगामी शक्तिको मतियार भएर नहिँडोस्। २०१५ सालको उपलब्धि २०१७ सालमा गुम्यो। कांग्रेसकै कारणले। त्यसपछिका कदम पनि त्यस्तै भए। माघ १९ मा पनि त्यस्तै भयो। ज्ञानेन्द्रले उधुम मच्चाए', ओलीले भने, 'त्यतिखेर प्रचण्ड र ज्ञानेन्द्रका बीचमा सहमति भएर उपद्रो मच्चाइएको थियो। २०६० साल मंसिर १९ मा ५ बुँदे सहमति भएको थियो। प्रचण्ड र ज्ञानेन्द्रबीच के भएको थियो त्यो भन्नुपर्यो।'
बाहिर क्रान्ति, राष्ट्रियता र परिवर्तनका कुरा गरेर भित्र भित्र प्रतिक्रियावादीको शिकार हुने काम भएको ओलीले बताए। अहिले पनि स्वार्थी मानिसहरू त्यसका पछि कुदिरहेका ओलीको टिप्पणी छ।
'हामीले जनदबाबबाट यी कुराहरु सच्चाउनुपर्ने छ। केन्द्रीय कमिटीमा निर्वाचित भएका र मनोनित भएका साथीहरुले यी सबै कुरा बुझ्नुपर्ने छ', उनले भने, 'हाम्रो राष्ट्रिय आकांक्षा सुखी नेपाली, समृद्ध नेपालका लागि त्यो काममा अघि बढ्नुपर्ने छ।'
ओलीले जनताका नेता हुनका लागि विचार, व्यवहार, आचरण, शैली राम्रो बनाउनुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।