काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललाई अस्थिरताका संवाहक शक्ति भएको बताएका छन्।
केन्द्रीय कमिटीको बैठकबाट मनोनित केन्द्रीय सदस्यलाई सपथ ग्रहण गराउने क्रममा उनले प्रचण्ड र नेपालले अस्थिरता मच्चाउन खोजेको आरोपसमेत लगाए। ‘हाम्रो अघि अहिले चुनौती छ,’ मनोनित केन्द्रीय सदस्यलाई निर्देशन दिँदै उनले भने, ‘राष्ट्र दुई धुव्रमा विभाजित हुँदै गएको छ, अस्थिरताका संवाहक तत्त्व यिनै हुन् भ्रम राख्नु पर्दैन।’
स्थायित्व र स्थिरतातर्फ केन्द्रितरहन निर्देशन दिँदै उनले भने, ‘अझै कतिपय साथीहरुमा भ्रम होला कम्युनिष्ट एकता भनेर त्यस्ता अस्थिरहरुसित एकीकरण गरेर कही पुगिँदैन। यिनको सम्बन्ध कहाँ छ तार कहाँ जोडिएको छ छर्लङ्ग देखिएको छ।’
जनयुद्ध सफल हुनुमा प्रचण्डको कुनै योगदान नरहेको उनले बताए। प्रचण्डले लगाम आफ्नो हातमा राख्ने विधिमात्र अपनाएको उनको भनाइ छ। ‘त्रसित, अशान्त र आफ्नो दुनो सोझ्याउने नीतिअनुसार काम भएको हो,’ उनले भने। अन्य देशका तालिम केन्द्रमा तालिम दिने गरिएको उनको आरोप छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।