काठमाडौं– पुस २ गते प्रदर्शन हुने भनिएको नेपाली फिल्म ‘चपली हाइट–३’को प्रदर्शन मिति सरेको छ। फिल्मका निर्माता अर्जुन कुमारले एक विज्ञप्ति जारी गर्दै आफ्नो फिल्मको प्रदर्शन सरेको जानकारी दिएका हुन्।
केही समयदेखि अर्जुन कुमार आफ्नो फिल्मसँग दक्षिण भारतीय फिल्म ‘पुष्पा’ जुँधाएमा फिल्मलाई प्रदर्शन नै नगर्ने हठ बाँधेर बसेका थिए। पुष्पा पनि चपली हाइट–३ प्रदर्शन हुने दिन नै नेपालमा प्रदर्शन हुँदै थियो। अर्जुनले पुष्पा प्रदर्शन भएमा आफ्नो फिल्मलाई पछि सार्ने बताएका थिए।
अर्जुनले फिल्म सरेको जानकारी गराउँदै जारी गरेको विज्ञप्तीमा फिल्मको प्रदर्शन मिति सार्नुको कारण खुलाएका छैनन्। तर, अनुमान लगाउन सकिन्छ कि उनले पुष्पा प्रदर्शन हुने भएकाले नै आफ्नो फिल्मलाई प्रदर्शनबाट पछि सारेका हुन्। उनले यसअघि पनि चपली हाइट–३सँगै पुष्पालाई जुँधाएमा आफ्नो फिल्म प्रदर्शन नै नगर्ने बताएका थिए।
चपली हाइटलाई निकेश खड्काले निर्देशन गरेका छन्। थ्रिलर विद्याको यो फिल्म ‘चपली हाइट’ फिल्म श्रृङ्खलाअन्तर्गतको तेस्रो फिल्म हो। फिल्ममा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, महेश त्रिपाठी, प्रतिकमान श्रेष्ठलगायतका कलाकारको अभिनय रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।