काठमाडौं- पछिल्ला केही हप्ताबाट निरन्तर ओरालो लाग्दै आएको सेयर बजार यो साता पनि त्यही लयमा अगाडि बढेको छ।
साताको दोस्रो कारोबार दिन आज (सोमबार) पुँजी बजार मापक परिसूचक (नेप्से) ७९.२३ अंकले घटेर २२८२ विन्दुमा झरेको छ। आइतबार नेप्से ८८.७० अंकले घटेको थियो।
आज समग्र नेप्से ३.३६ प्रतिशतले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले जानकारी दिएको छ। साताको दोस्रो दिन सेयर तीन अर्ब ९९ करोड ५६ लाख चार हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। यस दिन साताको पहिलो दिनभन्दा कारोबार रकम भने केही बढेको छ। आइतबार तीन अर्ब १९ करोड ९१ लाख ७२ हजार रुपैयाँ बराबरको मात्र कारोबार भएको थियो।
नेप्सेका अनुसार आज कूल २३३ वटा कम्पनीका ९६ लाख ७९ हजार ७२ कित्ता सेयर ६२ हजार ८०९ पटक किनबेच भएका थिए। आज कारोबारमा आएका १३ वटै समूहको सेयर मूल्य ओरालो लागेको छ।
आज ठूला कम्पनीहरुको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि १२.४७ अंकले घटेर ४३७.५९ विन्दुमा ओर्लिएको छ। आज सबैभन्दा धेरै फाइनान्स समूहतर्फको सेयर मूल्य घटेको छ। यस समूहको सेयर मूल्य आज ६.५१ प्रतिशतले घटेको छ। यस्तै, निर्जीवन बीमा कम्पनी समूहको सेयर मूल्य ५.२८ प्रतिशत र विकास बैंक समूहको सेयर मूल्य ५.१५ प्रतिशतले घटेको नेप्सेले जनाएको छ।
यसैगरी आज खरिद-बिक्री रकममा १८ करोड रुपैयाँभन्दा बढी रकमसहित नबिल बैंक अग्रस्थानमा रहेको छ। यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः नेसनल हाइड्रोपावर र हिमालयन डिस्टिलरी परेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।