काठमाडौं– साइक्लिङका राष्ट्रिय च्याम्पियन स्व. नारायणगोपाल महर्जनलाई बिहीबार अन्तिम श्रद्धाञ्जली दिइएको छ। महर्जनको पार्थिव शरीर बिहीबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखिएको थियो।
डल्लुमा डेरामा बस्दै आएका ३३ वर्षिय उनको श्रीलंकाको कोदामामा रम्बल इन जंगल– २०१८ मा प्रतिस्पर्धा गर्ने क्रममा दुर्घटनामा परी गत जेठ ३० गते निधन भएको थियो। उनको पार्थिव शरीरलाई श्रीलंकाबाट ड्रागन एयरमा असार ६ गते नेपाल ल्याइएको थियो। स्व. नारायणसहित उक्त प्रतियोगितामा सहभागी हुन अजय पण्डित क्षेत्री र बुद्धिबहादुर तामाङ पनि श्रीलंका गएका थिए। अजय र बुद्धि पनि स्वदेश फर्किसकेका छन्। उक्त घटनापछि आयोजकले प्रतियोगिता स्थगित गरेको नेपाल साइक्लिङ संघले जनाएको छ।
इन्डोनेसियामा भदौमा हुने एसियाली खेलकुदको तयारी प्रशिक्षणमा रहेका स्व. नारायणले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भइ १४ स्वर्ण, १३ रजत र १२ कांस्य पदक जितेको साइक्लिङ संघले जनाएको छ। स्व. नारायण २०६२ सालदेखि साइक्लिङको क्रस कन्ट्री विधामा संलग्न भएका थिए।
नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष एवं सांसद जीवनराम श्रेष्ठ, युवा तथा खेलकुद मन्त्रालयका सचिव मोहनप्रकाश सापकोटा, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्ट, एनओसीका महासचिव लामा टेन्डी शेर्पा, नेपाल साइक्लिङ संघका पदाधिकारी, विभिन्न राष्ट्रिय खेल संघका पदाधिकारी, खेलाडी, प्रशिक्षक, आफन्त, कर्मचारीलगायतले नारायणको पार्थिव शरीरमा फुल माला र पुष्पगुच्छा चढाईं बिहीबार श्रद्धाञ्जली अर्पण गरेका थिए।

नारायणको पार्थिव शरीरलाई बिहीबारै पशुपति आर्याघाटमा अन्त्येश्ती गरिएको छ। स्व. नारायणका बुवा, आमा र दुई दिदी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।