काठमाडौं- यश चोपडाका दाइ बलदेवराज चोपडा (बीआर चोपडा)लाई ‘नयाँ दौर (१९५७)’ फिल्मले बलिउड नगरीमा स्थापित गरेको थियो। दीलिप कुमार र वैजयन्ती माला अभिनित यो फिल्मले आफ्नो समयमा ‘गोल्डेन जुब्ली’ मनाउने मात्रै नभएर बलिउडको इतिहासमै एउटा सुन्दर फिल्मको रुपमा स्थापित भयो।
फिल्म बनेको ५० वर्षपछि २००७ मा यो फिल्मको रङ्गिन संस्करण प्रदर्शन गरिएको थियो। यसलाई पनि दर्शकले मन पराएका थिए। त्यतिबेला पनि फिल्म मेसिन र मानिसबीचको लडाइँ उत्तिकै सान्दर्भिक भएको प्रस्ट भएको थियो।
तर, ‘नयाँ दौर’की नायिकाको रुपमा वैनयन्ती माला निर्देशक बीआर चोपडाको पहिलो छनोट थिइनन्। उनले दीलिप कुमारको साथमा कुमारकै प्रेमिका पनि रहेकी मधुबालालाई फिल्ममा लिएका थिए। मधुबालाले करिब १० दिसम्म फिल्मको सुटिङ पनि गरेकी थिइन्। फिल्मका सङ्गीत निर्देशक ओपी नैय्यरले मधुबालालाई नै केन्द्रमा राखेर आशा भोसलेको आवाजमा ‘इक दीवाना आते जाते हमसे छेड करे, सखी री वो क्या मांगे’ बोलको गीत रचेका थिए।
फिल्मको इन्डोर सुटिङ सकियो। बीआर चोपडाले आउटडोर सुटिङका लागि लामो समय छुट्याएर भोपालको ग्रामीण क्षेत्र बुधनीमा जाने तयारी गरेका थिए। तर, त्यतिबेला मधुबालाका बुबाले भने बीआरसँग उनलाई जान दिएनन्। आफ्नी नायिकालाई नै सँगै लैजान नदिएपछि समस्या सिर्जना भएको थियो।
त्यो बेला दीलिप कुमार र मधुबालाको सम्बन्ध चर्चामा थियो, जुन मधुबालाको बुबालाई स्वीकार्य थिएन। जसकारण आफ्नी छोरीलाई उनले आफ्नो निगरानीविना महिनौंको छायाङ्कनका लागि टाढा पठाउन मानेनन्। कैयौं महिनासम्म दीलिप र मधुबालालाई सँगै हुन दिएमा त्यो सम्बन्ध आफूले छुट्याउन नसक्ने मधुबालाको बुबाको सोचाइ थियो।
मधुबालाको बुबाको जिद्दीमा बीआर चोपडा फसें। चोपडाले उनलाई सम्झाउने लाखौं कोसिस गरे। तर, उनले मानेनन्। त्यसपछि भने चोपडाले मधुबालाको ठाउँमा वैजयन्ती मालालाई फिल्ममा लिएर मधुबालाका बुबालाई यो निर्णय मन परेन् किनकि उनी सम्पूर्ण फिल्म इन्डोर छायाङ्कन हुनुपर्ने चाहन्थे। तर, इच्छाविपरीत भएपछि उनले बीआर चोपडाको विरुद्धमा अदालतमा उजुरी दिए।
बीआर चोपडाले धेरैपछि आफ्नो जीवनको यो किस्सा सुनाएका थिए। अदालतमा उजुरी भएपछि उनलाई न्यायधिशले इन्डोर सुटिङ गर्न सक्ने/नसक्ने सोधे। जवाफमा चोपडाले नसक्ने बताएका थिए। मधुबालालाई फिल्ममा लिनकै लागि फिल्मलाई इन्डोर छायाङ्कन गर्न नसक्ने बताएका थिए उनले। फिल्मप्रति पूर्णरुपमा इमान्दार रहेका बीआरको पक्षमा फिल्मका नायक दीलिप कुमारले पनि बयान दिएका थिए।
न्यायाधीशका अघि उनीहरुले फिल्मलाई आउटडोर नै छायाङ्कन गर्नुपर्ने बताएका थिए। फिल्म प्रदर्शनमा आएपछि ती न्यायाधीशले नै फिल्म हेरेर ‘तपाईंले ठीकै भन्नुभएको थियो, यो फिल्म इन्डोर खिच्न सकिने थिएन’ भन्दै चोपडालाई स्याबासी दिएका थिए।
पछि मधुबालाले चोपडाको घरमै आएर माफी पनि मागेकी थिइन्। तर, यो घट्नाले बीआरलाई भने धेरै पटक अदालती चक्कर काट्नुपरेको थियो। मधुबालाले फिल्ममा खेल्न त पाइनन्। तर, अहिले ‘नयाँ दौर’ हेर्दा थाहा हुन्छ, फिल्ममा मधुबाला भएको भए दीलिप र उनको जोडीले यस्तो कालजयी फिल्मलाई झन् कुन उचाईमा पुर्याउँथ्यो।
-सत्याग्रहबाट
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।