काठमाडौं- नेकपा संयुक्तले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नेकपा माओवादी केन्द्रको चुनाव चिह्न गोलाकारभित्रको हँसिया हथौडामा चुनाव लड्ने निर्णय गरेको छ।
यसअघि प्रेमबहादुर सिंह र लोकमणि ढकालको पार्टीले पनि माओवादीको चुनाव चिह्नमा निर्वाचनमा भाग लिने निर्णय गरेको थियो।
बुधवार काठमाडौंमा बसेको आकस्मिक पोलिटब्युरो बैठकले एमाले, माओवादी केन्द्र र नयाँ शक्ति नेपालको अग्रसरतामा भएको एकीकृत कम्युनिस्ट पार्टी निर्माणको घोषणालाई उच्च मूल्यांकन गर्दै त्यसमा सहभागी हुने निर्णय समेत गरेको छ। ‘वर्तमान समय र अवस्थामा वामहरुबीच एकता र एकीकृत पार्टी निर्माण देशकाल परिस्थिति तथा आम सर्वसाधारणको माग हो,’ बैठकपछि सो पार्टीका महासचिव ठाकुर शर्मा, कार्यवाहक संयोजक सुनिल मानन्धर र वरिष्ठ नेता चन्द्रदेव जोशीले जारी गरेको संयुक्त वक्तव्यमा भनिएको छ।
सो पार्टीका अध्यक्ष गणेश शाह मुलुकबाहिर रहेका कारण महासचिव शर्माको अध्यक्षतामा बसेको बैठकले समाजवाद उन्मुख आर्थिक, सामाजिक परिवर्तन, सुशासन, राष्ट्रिय एकता, अखण्डता तथा सार्वभौमिकताको संरक्षणका लागि वाम एकता मुलुकको आवश्यकता रहेको संयुक्तको मान्यता रहेको विज्ञप्तिमा उल्लेख छ।
प्रदेश नम्बर २ र ७ मा आफ्नो प्रभाव क्षेत्र रहेको सो पार्टीका ३ जना सांसद छन्। सो पार्टी प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।