काठमाडौं- नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले सरकारी नियामक निकायले सेयर बजारलाई लगाम लगाउने नीति अँगाल्दा बजारमा निरन्तर गिरावट आएको बताएकी छन्।
सोमबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै अध्यक्ष पोखरेलले नियामक निकायहरुले सेयर घटिरहेको अवस्थामा केही नबोल्ने तर, सेयर बजारले एउटा उचाइ लिएपछि बजारलाई लगाम लगाउने हिसाबले नीति अँगाल्न थालेको बताइन्। उनले सेयर बजार नियामक निकायहरुले सेयर बजार बढिरहेको अवस्थामा जसरी हुन्छ बजारलाई लगाम लगाउने गरी पछिल्ला नीतिहरु ल्याउने गरेको बताइन्।
सेयर बजार ३२ सय विन्दुमा पुग्दै गर्दा नेपाल धितोपत्र बोर्डले ५१ वटा कम्पनीको नामै किटान गरेर सार्वजनिक गर्नु, मौद्रिक नीतिमा सेयर बजारका लागि कडाइ गर्नु नियामक निकायहरुको सेयर बजारप्रतिको नकारात्मक सोच भएको पोखरेलले आरोप लगाइन्।
'नेपाल धितोपत्र बोर्डले ५१ कम्पनीको नाम सार्वजनिक गर्दा थप बजार प्रभावित भयो थियो। त्यसपछि नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा एउटा लगानीकर्ताले सेयर धितो कर्जा एउटा बैंकबाट चार करोड र समग्र बैंकहरुबाट १२ करोड रुपैयाँसम्म मात्र लिन पाउने सीमा तोकिएका कारण लगानीकर्तामा निराशा छाएको छ। यस्तो अवस्थामा जबसम्म बजारमा पैसा आउँदैन तबसम्म बजार घट्दै जान्छ,' उनले भनिन्।
मौद्रिक नीतिमा गरिएको उक्त व्यवस्था त्रैमासिक समीक्षामार्फत् संशोधन गर्ने लगानीकर्तालाई वचन दिइए पनि राष्ट्र बैंकले पूरा नगरेको उनको भनाइ छ। समीक्षामा लगानीकर्ताको माग सम्बोधन नहुँदा उनीहरु निराश बनेको र त्यसैको प्रभाव बजारमा देखिएको पोखरेलले बताइन्। 'सेयर बजार सेन्सेटिभ मार्केट भएकाले घटबढ भइरहनुपर्छ। तर नियामक निकायले बनाउने नीतिले सेयर बजार घट्ने र बढ्ने हुनुहुँदैन। नियामक निकायले सेयर बजारमा भएको विकृति विसङ्गतिलाई रोक्नुपर्छ। तर सेयर बजारलाई रोक्नु हुँदैन,' उनले भनिन्, 'अहिले बजारमा तरलताको समस्या छ। यो समस्या सरकारले ल्याएको बजेट खर्च नगरेर राज्यको ढुकुटीमा थन्किएर बसेकाले पनि सिर्जना भएको हो। यो विषयमा अर्थमन्त्रीको बजेट खर्च गर्ने कुरामा केही चासोसमेत देखाउनुभएको छैन। यी कारणले गर्दा सेयर बजारको भविष्य अन्योलमा रहेको छ।’
अध्यक्ष पोखरेलले कोरोना महामारीको समयमा सबै क्षेत्र बन्द भएको अवस्थामा धेरै नयाँ लगानीकर्ता सेयर बजारमा प्रवेश गरेको तर पछिल्लो समय नयाँ लगानीकर्ता आफ्नो पुरानै व्यवसायमा फकिएकाले बजार गिरावट भएको बताइन्। उनले कोरोना महामारी सुरु हुने बेला १८ लाख लगानीकर्ता रहेकोमा अहिले बढेर ४६ लाख पुगेको बताइन्। अध्यक्ष पोखरेलले पछिल्लो समय विस्तारै बन्द रहेका उद्योग व्यवसाय खुल्दै जाँदा मुलुकको अर्थतन्त्र पनि विस्तारै चलायमान हुँदै गएको बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।