काठमाडौं- लगातारको गिरावटपछि सोमबार सकारात्मक बनेको सेयर बजार आज पुन: ओरालो लागेको छ। सोमबार पुँजीबजार मापक परिसूचक 'नेप्से' बढेसँगै लगानीकर्ताले अब बजार लयमा फर्किने अपेक्षा गरेका थिए। तर, त्यो अपेक्षा एक दिन पनि टिक्न सकेन। आज (मङ्गलबार) सेयर बजार पुनः ओरालो लागेको हो।
आज नेप्से ३७.१८ अंकले घटेर २५०८.९१ विन्दुमा झरेको छ। साताको दोस्रो कारोबार दिन सोमबार नेप्से ३२.२२ अंकले बढेर २५४६.०९ विन्दुमा उक्लिएको थियो।
आज नेप्सेमा कारोबार रकम पनि घटेको छ। सोमबार चार अर्ब ५४ करोड २३ लाख ५४ हजार रुपैयाँ बराबरको कारोबार भएको सेयर बजार मंगलबार (आज) तीन अर्ब १२ करोड ८३ लाख ४१ हजार रुपैयाँमा खुम्चिएको छ।
आज कारोबारमा आएका २३१ कम्पनीका ८३ लाख ३० हजार ९३ कित्ता सेयर किनबेच भएका छन्। यस दिन ठूला कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ६.८५ अंकले घटेर ४७४.१३ विन्दुमा झरेको छ।
आईसीएफसी फाइनान्स कम्पनीका लगानीकर्ताले आज सबैभन्दा धेरै प्रतिकित्ता ७.६५ प्रतिशतका दरले गुमाएका छन्। सिटिजन्स म्युचुअल फण्ड-२ का लगानीकर्ताले सबैभन्दा धेरै ४.६५ प्रतिशतका दरले कमाएका छन्।
कारोबार रकमका आधारमा प्राइम कमर्सियल बैंक अग्रस्थानमा रह्यो। उक्त बैंकको सेयर मङ्गलबार १२ करोड ३६ लाख ४७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
आज १३ उपसमूहमध्ये ११ समूहको सेयर मूल्य नकारात्मक बन्दा म्युचुअल फण्ड र व्यापार उपसमूहको सूचक सकारात्मक बनेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ।
म्युचुअल फण्ड समूहको सेयर मूल्य आज ०.१२ प्रतिशतले बढेको छ। आज सबैभन्दा धेरै फाइनान्स उपसमूहका कम्पनीको सेयर मूल्य घटेको छ। यस समूहको सेयर मूल्य यस दिन ३.८५ प्रतिशतले घटेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।