काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले न्याय माग्नका लागि न्यायालय पुग्ने नागरिकहरु बिचौलियाबाट पीडित हुनेगरेको बताएका छन्। अहिले न्याय किन्न सक्नेले मात्रै न्याय पाउन स्थिति देखिएको ओलीको भनाइ छ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध महाअभियोग लगाउनका लागि 'सहयोग माग्न' पुगेका नेपाल बार र सर्वोच्च बारका पदाधिकारीसहितका कानुन व्यवसायीसँग ओलीले भने, 'सहज हिसाबले न्याय पाउने अवस्था नै बनिरहेको छैन। म त सधैं मुद्दा हारेको हार्यैमा पर्ने मानिस, कहिल्यै न्याय पाइँदैन।'
ओलीले राणाविरुद्ध महाअभियोगका लागि आफूहरु (नेकपा एमाले) निर्णायक शक्ति नभएको बताए। 'मसँग दुई तिहाइ छैन। एक तिहाइभन्दा अलि कम मात्रै हो। हामी निर्णायक होइनौं,' ओलीले भने, 'कोही पनि एक्लै निर्णायक छैन। हामी बाधा छौं भन्ने परिरहेको होला।'
ओलीले अहिले राजनीतिक पार्टीहरु न्यायपालिकामा जारी आन्दोलनका सन्दर्भमा कानुन व्यवसायीको साथमा नरहेको बताए। ' केही साथीहरु चलाख छन् र डबल गेम खेलिरहेका छन्। राजनीतिक पार्टी तपाईंहरुको साथमा छैनन्। गिभ–एण्ड–टेक गर्नेहरुबीच, गिभ–एण्ड–टेकमा रहेकाले राजीनामा कसरी माग्छन् र महाअभियोग लगाउछँन्?' ओलीले भने।
ओलीले न्यायालयले पनि केही ठाउँमा आफ्नो सीमा उल्लंघन गरेको ओलीले आरोप लगाए। 'न्यायालयले कतिपय ठाउँमा आफ्नो सीमा उल्लंघन गरेको छ। कहीँ बार भत्काएको छ, कहीँ नाघेर गएको छ,' ओलीले भने, 'सर्वोच्च अदालतले संविधानको व्याख्या गर्ने कि संशोधन गर्ने हो? संविधानमै नभएको कुरा त उसले गर्न पाउँदैन।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।