फाइल तस्बिर
काठमाडौं- वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले चोलेन्द्र शमशेर जबरा प्रधानन्यायाधीश भएपछि उनले बिचौलियाको कार्यालय खडा गरेको आरोप लगाएका छन्।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलमा श्रेष्ठले यस्तो बताएका हुन्। नेपाल बारको टोली मङ्गलबार ओलीलाई आफ्नो आन्दोलनबारे ध्यानाकर्षण गराउन ओली निवास पुगेको थियो।
श्रेष्ठले जग्गा किनबेच गर्न दलाल राखेजस्तै सम्पत्ति, अपराध, करसँग सम्बन्धित मुद्दाको घर-घरमा मान्छे पठाएर न्याय खरिद-बिक्री गर्ने काम भएको आरोप लगाएका छन्। 'हरिकृष्ण कार्कीको प्रतिवेदनले देशमा मात्रै होइन, विदेशमा पनि पैसा बुझ्न थालियो भन्नेछ। हामीले राजीनामा मागेका छौं। महाअभियोगका लागि प्रशस्त प्रमाण छन्,' उनले भने, 'दलहरुको आडका कारण उनले राजीनामा नदिएर बसेको अवस्था छ।'
नेपाल बारले उठाएको मागबाट पछि हट्ने अवस्था नरहेकोसमेत उनले प्रस्ट पारे। 'हिजो अदालतमा परेका कतिपय मुद्दामा मत नमिलेको होला तर न्यायालयको सुधार गर्ने सवालमा हाम्रो मत फरक नहोला भन्ने हाम्रो भनाइ हो,' वरिष्ठ अधिवक्ता श्रेष्ठले भने।
प्रधानन्यायाधीश जबराको बहिर्गमनका लागि महाअभियोग दर्ता गर्न चाहिने प्रमाण दिन आफूहरु तयार रहेकोसमेत उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।