काठमाडौं– नेपाली कांग्रेस कर्णालीको सभापतिमा पराजित भुपेन्द्रजंग शाहीले समृद्ध कर्णालीको सपनालाई नछाड्ने बताएका छन्। पार्टीको क्षेत्रीय सभापतिमा पराजित हुनुलाई उनले निर्वाचनमा हुने हारजितलाई स्वाभाविक प्रक्रिया भनेका छन्।
कर्णालीका निर्वाचित सभापति ललितजंग शाहीलाई बधाई दिँदै उनले गुट बलियो नभई सिंगो पार्टी बलियो हुनुपर्ने बताएका छन्।
आफूले सभापति पद गुमाए पनि कर्णालीमा कांग्रेसलाई बलियो बनाउने सुदृढ कांग्रेस समृद्ध कर्णालीको सपना नगुमाएको उनको भनाइ छ।‘कर्णालीका आम कांग्रेसजनको माया, ममता र सद्भाव धेरै नै प्राप्त गरेको छु,’ उनले भनेका छन्, ‘मलाई मत दिने सबै मतदाताहरूप्रति कृतज्ञ छु । तपाईहरूको ऋण तिर्नका लागि सँधै लागिपर्ने प्रतिबद्धता व्यक्त गर्दछु।’
कर्णालीमा आगामी सबै तहका संसदीय निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी गराउने चुनौती रहेको बताउँदै उनले यो चुनौतीलाई सामना गर्न अबको दिनमा नेपाली कांग्रेस एक ढिक्का भएर अगाडि बढ्नुपर्नेमा जोड दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।