काठमाडौं- भारत र दक्षिण अफ्रिकाबीच जनवरी २०२२ मा हुने एकदिवसीय सिरिज पार्ल र केप टाउनमा खेलिने भएको छ। पहिलो दुई खेल १९ र २१ जनवरीमा पार्लको बोल्याण्ड पार्कमा हुनेछ भने अन्तिम खेल २३ जनवरीमा केप टाउनको न्यूल्यान्ड्समा हुनेछ।
तेस्रो तथा अन्तिम टेस्ट पनि जनवरी ११ देखि १५ सम्म न्यूल्यान्ड्समा हुनेछ। भारतको दक्षिण अफ्रिका भ्रमण २६ डिसेम्बरदेखि सेन्चुरियनमा बक्सिङ डे टेस्टबाट सुरु हुनेछ।
दोस्रो टेस्ट जनवरी ३ देखि ७ जनवरीसम्म जोहानेसबर्गमा हुनेछ। यस भ्रमणमा चार म्याचको टी२० सिरिज पनि हुने तय थियो, तर त्यो तत्कालका लागि स्थगित गरिएको छ।
दक्षिण अफ्रिकामा कोभिड-१९ को ओमिक्रोन भेरियन्टका केसहरूमा तीव्र वृद्धि भएको छ। यसको प्रकोप गोटेङ प्रान्तमा सबैभन्दा बढी छ, जहाँ भारतले पहिलो दुई टेस्ट खेल खेल्नुपर्नेछ। जसका कारण नेदरल्याण्ड्सले आफ्नो दक्षिण अफ्रिका भ्रमण बीचमै छाडेको थियो। यसका साथै घरेलु खेलहरु पनि प्रभावित भएका छन्।
तर, भारत ए को दक्षिण अफ्रिका भ्रमण यस अवधिमा जारी राखेको थियो। यो भ्रमणको तेस्रो अनौपचारिक टेस्ट खेल सोमबारदेखि ब्लोमफन्टेनमा सुरु हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।