काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिले सरकारमा रहेका दलहरु प्रतिनिधि सभाको निर्वाचनसम्म मिलेर जाने बताएका छन्।
सोमबार खेलकुद महासंघ समाजवादीको प्रदेश १ स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै उनले विभिन्न पार्टीसँग सँगसँगै चुनाव लड्ने सहमति गरेको बताए।
'राष्ट्रिय सभा, उपनिर्वाचनमा, स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभाको चुनावमा पनि कुरा र मन मिल्नेसँग मिलेर जान्छौं। सरकारमा बस्नेहरुसँग कुरा गरेका छौं', उनले भने, 'हामी सबै खालका सम्भावना र चुनौतीलाई ख्यालमा राखेर आफ्नो खुट्टामा बढी भरोसा गरेर अघि बढ्न चाहन्छौं।'
अध्यक्ष नेपालले एमालेले बाटो बिराएर एउटा व्यक्तिको मुठीमा गएको बताए। 'विचारमा पनि स्खलित भयो, सिद्धान्तमा सकियो। आदर्शच्यूत भयो। संस्कारविहीन भयो। र गुटको आधारमा चल्न थाल्यो। त्यहाँ लोकतन्त्र छैन। छलफल र परामर्श हुँदैन', उनले भने।
आफूहरुले एकीकृत समाजवादी बनाएको भन्दै उनले एमालेको सूर्यमा ग्रहण लागिसकेको बताए। सूर्यलाई चुनौती दिँदै कलम आएको उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।