काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले थप बलियो पार्टी निर्माण गर्नका लागि देशभर पार्टी प्रवेशको अभियान सञ्चालन गरिने बताएका छन्।
एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले त्रि–चन्द्र क्याम्पसमा आयोजना गरेको संगठन विस्तार एवं सदस्यता वितरण महाअभियान-२०७८ को उद्घाटन समारोहमा उनले यस्तो बताएका हुन्।
‘मंसिर २५ देखि केन्द्रीय समितिको बैठक आयोजना गर्दैछौं। एकैचोटी जिल्ला र प्रदेशको अधिवेशन गर्दैछौं,’ उनले भने, ‘घर–घरमा एमालेको अभियान सुरुवात गर्दैछौं। देशव्यापी पार्टी प्रवेशको अभियान चलाउने छौं। देशभक्तहरुको एउटै पार्टी एमाले हुनेछ। मुलुको समृद्धिको आकांक्षा राख्नेहरुको पार्टी नेकपा एमाले नै हुनेछ।’
‘चितवनको महाधिवेशनबाट जुन नेतृत्व निर्माण गरेका छौं। विधान महाधिवेशनबाट जे कार्यभार निर्माण गरेका छौं। संगठन निर्माण र परिचालन गर्ने योजना बनाएका छौं,’ उनले भने, ‘अब ती कार्यान्वयन गरेर जाने विषयमा नै नेतृत्वको ध्यान जानेछ र हामी त्यसै दिशामा अघि बढ्छौं।’
गठबन्धनका कारणले सरकार, अदालत लगायत सबै क्षेत्रमा व्यथिति देखिएको भन्दै उनले अहिलेको परिस्थितिमा ताजा जनादेशका लागि जनतामा जानु अपरिहार्य भएको बताए।
लोकतन्त्रका महत्वपूर्ण खम्बामाथी प्रहार गर्ने काम गठबन्धनका दलहरुबाट भइरहेको बताएका छन्। ‘दुई–दुई पटक संसद विघटन भएको हो र त्यसलाई अदालतबाट पुनःस्थापना पनि भयो,’उनले भने,‘तर आज प्रष्ट देखिएको छ। अदालतमा के भइरहेको छ।’
लेनदेनका माध्यमबाट नै परमादेशबाट संसद पुनःस्थापना भएको पुष्टि भएको भन्दै उनले अहिले न्यायाधीशहरु बाँझाबाँझ गरिरहेको कुराले धेरै कुरा भनिरहेको बताए। ‘न्यायाधीश एक्लैले लेनदेन गर्न सक्छ। न्यायाधीशले माग गरेको थियो भने दिनेले पनि दियो होला,’ उनले भने, ‘यो सबै परमादेशका लागि भएको थियो भन्ने देखिएको छ।’
लेनदेनको विषय भनेको परमादेशको विषय थियो भन्ने कुरा पुष्टि भएको भन्दै उनले आज अदालतलाई अदालत बन्न नदिने काम पाँच दलीय गठबन्धनले गरेको बताए।
‘आज अदालत अदालत जस्तो छैन। सरकार सरकार जस्तो छैन र संसद संसद जस्तो छैन,’उनले भने,‘लोकतन्त्रका मह्त्वपूर्ण खम्बा माथी प्रहार गर्ने काम गठबन्धनमा रहेका दलहरुबाट भइरहेको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।