काठमाडौं- नेकपा (एमाले)को विद्यार्थी सङ्गठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले सङ्गठन विस्तार तथा सदस्यता वितरण महाअभियान थालेको छ।
अनेरास्ववियु केन्द्रीय सङ्गठन विभागले काठमाडौंको त्रि-चन्द्र क्याम्पसमा कार्यक्रम आयोजना गरेर अभियानको सुरुआत गरेको हो। एमाले महासचिव शंकर पोखरेलले सोमबार अभियानको सुरुआत गरेका छन्।
अनेरास्ववियुले देशभर सङ्गठन विस्तार गर्दै सदस्यता वितरणलाई तीव्र बनाउने जानकारी दिएको छ। ‘हामीले सङ्गठन विस्तार र सदस्यता वितरणको काम विगतमा पनि निरन्तर गर्दै आएका थियौं,’ कार्यक्रममा अखिल अध्यक्ष एवं एमाले केन्द्रीय कमिटी सदस्य सुनिता बरालले भनिन्, ‘अहिले विशेष राजनीतिक परिस्थिति र केही समय सङ्गठन चलायमान हुन सकेको थिएन। अहिले यसलाई अझ विस्तार गर्दै लैजान लागिएको हो।’
उनले देशभर नै पुराना सदस्यहरुको नवीकरणसहित महाअभियानबाट देशभर १० लाख सदस्यता वितरण गरिने जानकारी दिइन्। आउने स्ववियु निर्वाचनमा अनेरास्ववियुलाई प्रत्येक क्याम्पसमा विजय बनाउने उद्देश्यले अघि बढ्ने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।