काठमाडौं- इङ्ल्याण्ड टेस्ट क्रिकेट टोलीका कप्तान जो रुटले अस्ट्रेलियाविरुद्धको एसेस टेस्ट सिरिज आफ्नो कप्तानी प्रमाणित गर्ने अवसर भएको बताएका छन्।
खेलाडीका रूपमा रुटको यो तेस्रो र कप्तानको रूपमा दोस्रो भ्रमण हुनेछ। जब रुट बुधबार ब्रिसबेन मैदान उत्रिनेछन्। उनी उत्कृष्ट फर्ममा रहेका विश्वकै नम्बर एक टेस्ट ब्याट्सम्यान हुन्। रुट आईसीसी टेस्ट वरीयताको ब्याटिङतर्फ शीर्ष स्थानमा छन्। वरीयताको दोस्रो र तेस्रो स्थानमा अस्ट्रेलियन ब्याटर स्टिभ स्मिथ र न्यूजिल्याण्डका कप्तान केन विलियम्सन छन्।
उनले १२ खेलमा ६६.१३ को औसतमा एक हजार ४५५ रन बनाएका छन्। यो एक क्यालेण्डर वर्षमा इङ्ल्याण्डका ब्याट्सम्यानले बनाएको चौथो सर्वाधिक रन हो। यससँगै उनले सिड्नीमा हुने चौथो टेस्टमा देशका लागि कप्तानको सूचीमा एलिस्टर कुकलाई पछि पार्ने छन्।
तर, रुट आफ्नो पहिलो शतकको प्रतीक्षामा छन्। अझ के हो भने, इङ्ल्याण्डले विगत ३० वर्षदेखि अस्ट्रेलियामा परिस्थितिमा सङ्घर्ष गरिरहेको छ र घरबाहिर एक दशकमा एसेज सिरिज जित्न सकेको छैन।
अस्ट्रेलियाले इङ्ल्याण्डविरुद्ध घरेलु मैदानमा भएको पछिल्लो आठ टेस्ट सिरिजमध्ये सातमा जित निकालेको छ।
'अस्ट्रेलियाविरुद्ध घरेलु मैदानमा जित निकाल्न इङ्ल्याण्डका कप्तान तथा इङ्लिस टोलीलाई कति कठिन छ भन्ने विगतले देखाउँछ। म सिरिजका लागि निकै उत्साहित र प्रतिक्षारत छु,' उनले भने।
इङ्ल्याण्ड टोलीमा अलराउण्डर बेन स्टोक्स फर्किएका छन्। जुलाईदेखि क्रिकेटबाट विश्राम लिएपछि गत हप्ता अभ्यासमा फर्किएका हुन्।
जेम्स एन्डरसन र स्टुअर्ट ब्रोडसँग राम्रो अनुभव छ र मार्क वुड, क्रिस वोक्स र ओली रोबिन्सनले उनीहरुलाई साथ दिने छन्।
उनले भने, 'युवा खेलाडीहरूले आफूले के गर्न सक्छन् र आफ्नो क्षमता के छ भन्ने झलक देखाएका छन्। सिरिज जित्न र अन्तर्राष्ट्रियस्तरमा राम्रो प्रदर्शन गर्न योभन्दा राम्रो प्लेटफर्म के हुनसक्छ र? उपाधिसँगै अन्तर्राष्ट्रियस्तरमा आफू एक उत्कृष्ट खेलाडी तथा कप्तान भएको प्रमाणित गर्दै म यस एसेस टेस्ट प्रतिद्वन्द्विताको इतिहासमा सदैव रहिरहन चाहन्छु।'
सोमबार अस्ट्रेलिया क्रिकेट (सीए) ले निकालेको विज्ञप्तिअनुसार एसेस सिरिजअन्तर्गत पर्थमा हुने भनिएको पाँचौं टेस्टको स्थान सरेको छ।
कोरोना महामारी नियन्त्रणका लागि पश्चिमी अस्ट्रेलिया सरकारले सीमा प्रतिबन्ध तथा अन्य कडा नियम जारी राखेका कारण पाँचौं टेस्ट सारिएको हो।
'सिरिजको अन्तिम टेस्ट खेल पर्थमा आयोजना गर्न हरसम्भव प्रयास गरिए पनि सीमा नियन्त्रण, क्वारेन्टिन र अन्य प्रतिबन्धहरुका कारण सम्भव हुन सकेन,' सीएले विज्ञप्तिमा भनेको छ।
यद्यपि, पाँचौं टेस्ट हुने स्थान परिर्वतन गर्ने विषय छलफलको क्रममा रहेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।