काठमाडौं– चौथो दिनको खेल सुरु हुँदा भारतीय टोलीलाई जितका लागि ५ विकेट र न्यूजिल्याण्डलाई ४०० रन आवश्यक थियो। तर, दिनको पहिलो घण्टामै जयन्त यादवको उत्कृष्ट बलिङका कारण भारतीय टोलीलाई जितका लागि धेरै समय कुर्नु परेन।
सुरुका केही ओभरमा न्यूजिल्याण्डका ब्याट्सम्यानले बलियो ब्याटिङ गर्दै बललाई बाउन्ड्री रेखा बाहिर पुर्याएपनि भारतीय बलरले कसिलो बलिङसामू उनीहरु निरिह देखिए। जसकारण भारतले चौथो दिन पहिलो सेसनमा ३ सय ७२ रनको फराकिलो जित हात पार्दै दुई खेलको सिरिज १-० ले जितेको हो।
यो भारतले आफ्नो टेस्ट इतिहासमै रनको हिसाबमा फराकिलो जित हो भने सन् २००३ पछि आईसीसीको प्रतियोगितामा भारतले न्यूजिल्याण्डलाई पहिलोपटक हराएको हो।
यसअघि भारतको सर्वाधिक ठूलो जित दक्षिण अफ्रिकाविरुद्ध २०१५ मा दिल्लीमा ३ सय ३७ रन थियो। ५ सय ४० रनको विशाल विजयी लक्ष्य पछ्याएको पाहुना टोली न्यूजिल्याण्ड ५६.३ ओभरमा १ सय ६७ रनमा अलआउट भयो।
न्यूजिल्याण्डका डर्याल मिचेल सर्वाधिक ६० रनमा आउट भए। उनले ९२ बलमा ७ चौका र २ छक्का प्रहार गरे। हेनरी निकोलस ४४, विल योंक २१ र रचिन रविन्द्र १८ रनमा आउट भए।
कप्तान टम लाथमलाई स्पिनर रविचन्द्रन आश्विनले ६ रनमा एलबीडब्लू आउट गरेका थिए। रस टेलर ६ रनमा आउट भए। भारतका स्पिनर रविचन्द्रन आश्विन र जयन्त यादवले ४-४ विकेट लिए।
भारतले दोस्रो इनिङ्समा ७० ओभरमा २७६–७ को अवस्थामा समाप्तिको घोषणा गरेको थियो। पहिलो इनिङ्समा २ सय ६३ रनको अग्रता लिएको भारतले समग्रमा ५ सय ३९ योगफल तयार पारेको थियो।
भारतका ओपनर मयंक अग्रवालले सर्वाधिक ६२ रन बनाए । चेतेश्वर पुजारा र सुभमन गिल ४७–४७ रनमा आउट भए । अक्षर पटेल ४१ रनमा अविजित रहे। विराट कोहली ३६, श्रेयस ऐरले १४ र ऋद्धिमान शाहले १३ रन जोडे। न्यूजिल्याण्डका अजाज पटेलले ४ र रचिन रविन्द्रले ३ विकेट लिए।
न्यूजिल्याण्ड पहिलो इनिङ्समा २८.१ ओभरमा ६२ रनमा अलआउट भयो। न्यूजिल्याण्डका जेम्स निशम १७ र कप्तान टम लाथम १० रनमा आउट भए। अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
भारतका रविचन्द्रन आश्विनले सर्वाधिक ४ विकेट लिए। मोहम्मद शिराजले ३, अक्षर पटेलले २ र जयन्त यादवले १ विकेट लिए।
वानखडे स्टेडियम मुम्बईमा टस जितेर पहिला ब्याटिङ थालेको भारत पहिलो इनिङ्समा ३ सय २५ रनमा अलआउट भयो। स्पिनर अजाज पटेलले ४७.५ ओभरमा १२ मेडन राख्दै १ सय १९ रन खर्चेर १० विकेट लिए।
भारतका ओपनर मयंक अग्रवालले सर्वाधिक १ सय ५० रनको योगदान दिए। तल्लोक्रमका अक्षर पटेलले ५२ रनमा आउट भए। सुभमन गिल ४४ रनमा क्याच आउट भए।
चेतेश्वर पुजारा र विराट कोहली एलबीडब्लूमा आउट भए। श्रेयस ऐरलाई १८ रनमा क्याच आउट गराएका थिए। पहिलो टेस्ट बराबरीम सकिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।