काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत–सामाजवादी)ले काभ्रेपलाञ्चोकमा संगठन विस्तारलाई तीव्रता दिएको छ। सो पार्टीले एकै दिन तीन वडासम्ममा कमिटी गठन गरेको हो।
गत शनिबार मात्रै नमोबुद्ध नगरपालिका–२, रोशी गाउँपालिका–६ र तेमाल गाउँपालिका–२ मा वडा कमिटी गठन भएको पार्टीले जनाएको छ। रोशी–६ मा भने स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको उपस्थितिमा वडा कमिटी गठन भएको हो।
काभ्रेमा धमाधम पार्टी वडा कमिटी तथा जनवर्गीय संगठन निर्माण भइरहेको जिल्ला सचिव दीपक गौतमले जानकारी दिए। उनका अनुसार आउँदो पुस १५ गतेसम्म सबै वडामा कमिटी गठन भइसक्ने जनाइएको छ। जिल्लाको छ नगर र सात गाउँपालिकामा १३५ वडा छन् । हालसम्म ६० वडामा कमिटी गठन भइसकेको गौतमले जानकारी दिए।
मण्डनदेउपुर नगरका सबै वडामा कमिटी निर्माण भइसकेको उक्त पार्टीका जिल्लाध्यक्ष टोकबहादुर वाइवाले बताए। वाइवा उक्त नगरको प्रमुख हुन्।
नेकपा (एमाले)सँग विभाजन भएसँगै निर्माण भएको उक्त पार्टीमा गत भदौ अन्तिमसाता काभ्रेमा निर्वाचित ५६ जनप्रतिनिधिले जिल्ला निर्वाचन कार्यालय धुलिखेलमा सनाखत गरेका थिए।
तत्कालीन एमाले नेतृत्वले एकलौटी ढङ्गले पार्टी सञ्चालन र मनोमानीरुपमा एकल निर्णय गर्दै एकोहोरो अघि बढेकाले वरिष्ठ नेता माधवकुमार नेपालसँगै नयाँ कम्युनिष्ट पार्टी निर्माणको अभियानमा लाग्नुपरेको वाइवाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।