काठमाडौं– यो वर्षको काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) मङ्सिर २३ गतेदेखि आयोजना हुने भएको छ।
हिमाल एसोसिएसनको आयोजना तथा काठमाडौं महानगरपालिकाको सहआयोजनामा मङ्सिर २७ गतेसम्म चल्ने महोत्सवमा विश्वभरका २८ देशबाट प्राप्त ६० भन्दा बढी फिल्महरु देखाइनेछ।
आइतबार नेपाल पर्यटन बोर्डमा पत्रकार सम्मेलन गरी महोत्सवबारे जानकारी दिइएको हो। यो वर्ष महोत्सवमा दर्शकको भौतिक उपस्थितिसँगै अनलाइनबाट पनि कार्यक्रम हुनेछ। महोत्सवमा डकुमेन्ट्री, फिक्सन, प्रयोगात्मक, सर्ट फिल्म र एनिमेसन ६० वटा फिल्महरु देखाइने छन्।
किम्फका अध्यक्ष बसन्त थापाकाअनुसार महोत्सवमा प्रस्तुत हुने फिल्म र अन्य गतिविधिले दर्शकलाई मनोरञ्जनसँगै वातावरण र जलवायु परिवर्तनबारे विशेष जोडका साथ नेपाली जनतालाई असर गर्ने मुद्दाहरूबारे संवादमा संलग्न गराउनेछ।
‘जलवायु कर्म’ विषयवस्तुमा आधारित रहेका फिल्महरुको महोत्सवमा प्रदर्शन हुने छन्। आयोजककाअुनसार स्थानीय र विश्वव्यापी रुपमा देखिएका जलवायु परिवर्तनका प्रभावलाई कसरी कम गर्न सकिन्छ भन्ने विषयमा विमर्श गर्ने विषयवस्तुमा आधारित फिल्महरु महोत्सवमा देखाइनेछ।
२३ मङ्सिरमा हुने उद्घाटन समारोहमा लद्दाखका पर्यावरणविद् तथा वैज्ञानिक र रोलेक्स पुरस्कार पाएमा सोनाम वाङ्चुकको मुख्य उपस्थिति रहनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।