काठमाडौं– लुम्बिनी प्रदेशले यू–१९ पुरुष क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। सुदुरपश्चिम प्रदेशलाई १ सय १३ रनले पराजित गर्दै लुम्बिनीले उपाधि हात पारेको हो।
जितका लागि २ सय १३ रनको लक्ष्य पछाएको सुदुरपश्चिम २८.३ ओभरमा अलआउट हुँदै ९९ रनमा समेटियो।
सुदुरपश्चिमका लागि लोकेश बमले सर्वाधिक २५ रन जोडे। यता, कप्तान खड्क बोहरा २१, शेर मल्लले १५ तथा नारायण जोशी ११ रनमा आउट भए।
सुदुरपश्चिमलाई सस्तैमा समेट्न लुम्बिनीका अजय चौहानले सर्वाधिक ५ विकेट लिए। यता, दुर्गेश गुप्ताले ३ विकेट तथा मोहम्मद हुसेनले २ विकेट लिए।
यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित ५० ओभरमा अलआउट हुँदै २ सय १२ रन बनाएको थियो।
लुम्बिनीका लागि कप्तान देव खनालले सर्वाधिक ७० रनको योगदान गरे। उनले ९५ बलमा ५ चौका र ४ छक्का प्रहार गरे।
यता, विशाल विक्रम केसीले ५१, दुर्गेश गुप्ताले ३२ तथा प्रज्वल थापाले २४ रन बनाए। सुदुरपश्चिमका आकाश चन्दले सर्वाधिक ३ विकेट लिए।
यस्तै, शेर मल्ल र हेमन्त धामीले समान दुई/दुई विकेट लिए। नरेन साउद र राहुल भण्डारीले एक–एक विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।