काठमाडौं- मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सर्वजनिक भएयता निरन्तर ओरालो लागिरहेको सेयर बजारमा आज पनि उच्च अंकको गिरावट आएको छ।
साताको पहिलो कारोबार दिन आइतबार पुँजीबजार मापक परिसूचक 'नेप्से' ७२.३० अंकले घटेर २५१३.८९ विन्दुमा ओर्लिएको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज चार अर्ब नौ करोड सात लाख ६५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो।
आज कारोबारमा आएका २२६ कम्पनीका ८९ लाख २० हजार ८९४ कित्ता सेयर किनबेच भएका छन्।
यस दिन ठूला कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि १४.१५ अंकले घटेर ४७३.३७ विन्दुमा ओर्लिएको छ।
आइतबार कारोबारमा आएका सबै समूहका सूचकहरु ओरालो लागेका छन्। आज सबैभन्दा धेरै विकास बैंकका लगानीकर्ता र फाइनान्स कम्पनी समूहको सेयर मूल्य ओरालो लागेको छ। यस समूहहरुको सेयर मूल्य क्रमशः ४.५४ प्रतिशत र ४.२९ प्रतिशतले घटेको छ।
आज कारोबारमा आएका १२ कम्पनीबाहेक सबै कम्पनीको सेयर मूल्य ओरालो लागेको छ।
समग्र नेप्सेमा भारी गिरावट आएको दिन आज न्यादी जलविद्युत् कम्पनीको कारोबारमा भने सकारात्मक सर्किट लागेको छ। आज सबैभन्दा धेरै आईसीएफसी फाइनान्स कम्पनीका लगानीकर्ताले आफ्नो सेयर मूल्य गुमाएका छन्। यस कम्पनीका लगानीकर्ताले यस दिन ८.३२ प्रतिशतले गुमाएका छन्।
आज २८ करोड रुपैयाँभन्दा बढीसहित खरिद-बिक्री रकममा नेसनल हाइड्रोपावर अग्रस्थानमा रहेको छ। यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन डिस्टिलरी र नेपाल टेलिकम रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।